साहित्यकार सूर्य लाकाेजु र गंगा सुवेदीलाई ‘सयपत्री राष्ट्रिय सम्मान’ प्रदान

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १३, शनिबार मा प्रकाशित ८४४ पटक पढिएको
साहित्यकार सूर्य लाकाेजु र गंगा सुवेदीलाई ‘सयपत्री राष्ट्रिय सम्मान’ प्रदान

कात्तिक १३, काभ्रे। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औैं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले आज (शनिबार) दुई श्रष्टालाई दम्पत्ती सहित ‘सयपत्री राष्ट्रिय सम्मान २०७८’ले सम्मानित गरेको छ।

काभ्रेली चर्चित साहित्यकार एवं साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजू र उहाँकी श्रीमती सविताकुमारी श्रेष्ठ तथा विराटनगरकी साहित्यिकार एवं साहित्यिक पत्रकार गंगा सुवेदी र उहाँको श्रीमान दिनेश सुवेदी सम्मानित हुनुभएको हो।

सयपत्री प्रतिष्ठानले २०५७ सालदेखि सयपत्री राष्ट्रिय सम्मान वितरण गर्दै आएको छ। सम्मानमा दोसल्ला, सम्मानपत्र, तिहारको मर-मसला, फलफूल र नगद पाँच हजार पाँच रुपैया रहको छ।

उहाँहरुलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले सम्मानित गर्नु हुदै सयपत्री प्रतिष्ठानले श्रष्टाहरुको योगदानको जीवनवोद गरी दम्पत्तीसहित सम्मानित गर्ने परम्पराले आफुलाई निकै प्रभावित पारेको उल्लेख गर्नुभयो। उहाँले आफूभित्र रहेको नकरात्मक उर्जालाई हटाई चेतनाको दियो मनमा वालेर समाजको लागि केहि गर्नुपर्ने भनाइ राख्दै प्रज्ञा प्रतिष्ठानले निकट भविष्यमा नै महाकवि देवकोटाको संग्रालय संचालनमा ल्याउने बताउनुभयो।

सयपत्री प्रतिष्ठाका सल्लाहकार वरिष्ठ साहित्यकार मोहन दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी निश्वार्थ जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिदै सयपत्रीले सदैव उत्कृष्ठ कार्य गरेकोले आफूले साथ दिइरहेका बताउनु भयो।

कार्यक्रममा सम्मानित साहित्यकार गंगा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाँउदा आफूलाई ४० वर्ष अघि आफ्नो विवाहको स्मरण आएको बताउनु भएको थियो भने अर्का सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउनु भएको थियो।

सम्मानित श्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ लेखक श्रीओम श्रेष्ठ “रोदन“ले प्रकाश पार्नु भएको थियो भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्रीको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिनुभएको थियो।
बनेपा नपा वडा न १० का वडा अध्यक्ष चन्द्रबहादुर खडका, नेपाल साहित्यिक पत्रकार महांसघका चेतनाथ धमाला, मातृका पोखरेल सयपत्रीका उपाध्यक्ष पद्युम्न न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा बढी श्रष्टाहरुले कविता, गित र गजल बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस