सूर्यप्रसाद लाकोजूको ‘पनौती’ नामक पुस्तकको लोकार्पण

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १८, बिहिबार मा प्रकाशित ९०० पटक पढिएको
सूर्यप्रसाद लाकोजूको ‘पनौती’ नामक पुस्तकको लोकार्पण

कात्तिक १७, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘पनौती’ नामक पुस्तकको लोकार्पण गरिएको छ। आज (बुधबार) पनौतीको इन्द्रेश्वर मन्दिर प्राङ्गनमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो।

काभ्रेमा मात्र नभई नेपाल र अन्तर्राष्ट्रिय छवी बनाउन सफल काभ्रेली साहित्यकार लाकोजूको पनौती पुस्तक परिमार्जित तथा पुनर्लिखित कृति हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले ‘पनौती’ पुस्तक पनौती नगरलाई गहिरईमा पुगेर चिनाउने एक पठनीय कृति भएको बताउनुभयो। साहित्यकार लाकोजूलाई साहित्यिक कृति लेखिरहन आफुहरुले सधै उत्प्रेरणा जगाईरहने उल्लेख गर्नुभयो।

सर्जक लाकोजूले पुस्तकले पनौतीको ऐतिहासिक परिचय दिने बताउदै ‘पनौती’ लेखनमा पनौती नगरपालिकाको सद्भाव, स्थानीय विज्ञको प्रेरणा र आफ्नो मिहेनत मुख्य रहेको बताउनुभयो। भविष्यमा यो भन्दा पनि अझै राम्रा सिर्जनाहरुको खेति गर्न आफुलाई अझ हौसला मिलेको भन्दै खुसि ब्यक्त गर्नुभयो। उहाँले पुस्तक लेखनका क्रममा साथ र सहयोग गर्ने सम्पूर्ण महानुभावहरूमा आभार प्रकट गर्नुभएको छ।

यस्तै, कार्यक्रममा बोल्दै साहित्यकार तुयुकाजी ताम्राकारले पुस्तक र लेखकको बारेमा चर्चा गर्नुभएको थियो। उहाँले सर्जक लाकोजूको साहित्यिक व्यक्तित्व बिदेशमा पनि विराट बन्दै गएको बताउनुभयो। आफुहरु भन्दा जुनियर भएपनि साहित्यिक लेखन र सृजनाले लाकोजूलाई उचाईमा पुर्याएको उल्लेख गर्नुभयो। साहित्यकार ताम्राकारले यस पुस्तकले पनौतीनगर लाई थप परिचित गराउन मद्दत गराउने बताउनुभयो।

‘पनौती’ पुस्तकलाई २०६४ सालमा १२८ पृष्ठमा लेख्नुभएको लाकोजूले थप अनुसन्धान पश्चात ३ सय भन्दा बढी पृष्ठमा परिमार्जन सहित पुनर्लेखन गर्नुभएको हो। कार्यक्रममा साहित्यकार लाकोजूलाई नगर प्रमुख न्यौपाने दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।

कार्यक्रमकै क्रममा भोलाकाजी श्रेष्ठद्वारा रचना र सुरेश अधिकारीद्वारा सङ्गीत रहेको एतिहासिक १२ वर्षे मकरमेला सम्बन्धी गीति भिडियो सार्वजनिकरण गरिएको थियो।

कार्यक्रमा नगर प्रमुख न्यौपानेसहित, उप-प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र नास्नानी, विभिन्न दलका प्रतिनिधिहरु, साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस