एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गाैतमकाे आग्रह (पत्रसहित)

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २४, बुधबार मा प्रकाशित ६०७ पटक पढिएको
एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गाैतमकाे आग्रह (पत्रसहित)

कात्तिक २४, काठमाडौं। नेकपा एमाले परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको छ।

आज बुधवार एक विज्ञप्तिमार्फत नेता गौतमले एमसीसी फिर्ता लैजानु श्रेयस्कर भएको बताउनुभएको हो । एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली नागरिकले अमेरिकाप्रति गम्भीर आशङ्का व्यक्त गरिरहेका भन्दै उहाँले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको हो।

‘यो सम्झौताले नेपालका छिमेकी देशहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शङ्का व्यक्त भइरहेको देखिन्छ। सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शङ्का गर्न थालिएको छ’, नेता गाैतमले विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ।

नेता गौतमले यी अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको बताउनुभएको छ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र यस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएकाे छ।


प्रतिक्रिया दिनुहोस