काभ्रेकाे नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल शुरू

नौलो समाचार संवाददाता
२०७८ मंसिर २१, मंगलबार मा प्रकाशित १४३७ पटक पढिएको
काभ्रेकाे नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल शुरू

मंसिर २१, काभ्रे। ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल शुरू गरिएको हो ।

नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल सुरु भइसकेको र यसका लागि प्रक्रिया थालिएको बताउनुभयो। उहाँका अनुसार सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएको छ ।

नगरले युनेस्कोका नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको छ । सूचीकृतका लागि प्रदेशस्तरबाटसमेत पहल भएको वाग्मती प्रदेशका सांसद चन्द्र लामाले बताउनुभयो । उहाँका अनुसार वातावरण सहज भए आउदो पुसमा युनेस्कोसहित सरोकारवालाद्वारा नमोबुद्धको औपचारिक अवलोकन–भ्रमण हुनेछ । पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ ।

शान्तिका प्रतिक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेकोस्थल हो नमोबुद्ध । बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको पाइन्छ । किंबदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ ।

हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस