पनौती नगरले सुरु गर्यो विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

नगरपालिकाका ६ सय परिवारको निःशुल्क बीमा गरिने
नौलो समाचार संवाददाता
२०७८ मंसिर २९, बुधबार मा प्रकाशित ६५५ पटक पढिएको
पनौती नगरले सुरु गर्यो विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

मंसिर २९, काभ्रे। पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ। पनौती नगरपालिका वडा नम्बर ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठको ४ जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको हो ।

उक्त श्रेष्ठ परिवारलाई नगर प्रमुख भिम न्यौपाने र उप–प्रमुख गिता बञ्जाराले संयुक्त रुपमा स्वास्थ्य बीमा परिचयपत्र हस्तान्तरण गर्नुभएको छ। यससँगै अब श्रेष्ठ परिवारले १ लाख बराबरको उपचार निःशुल्क प्राप्त गर्नेछ ।

आर्थिक अभावकै कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । बीमा कार्ड लिँदै रामकृष्णका जेठा छोरा कपिलले यसअघि परिवारमा कोहि बिरामी हुँदा पैसाका लागि आफन्त र सहकारीको खोजीमा धेरै भौतारीनुपरेको गुनासो गर्नुभएको छ । नगरपालिकाले आफुहरुलाई पनि सम्झेर कार्यक्रम सुरु गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

पनौती नगरपालिकाले वडा समितिको सिफारिस अनुसार विपन्न दलित, जनजाती, अपांगता भएका व्यक्ति र एकल परिवारको निःशुल्क बीमा गर्ने योजना बनाएको छ । जसअन्तर्गत नगरपालिकाका ६ सय परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

नागरिकका लागि पहिलो सेवा लिने स्थान धुलिखेल अस्पताल र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा तोकिएको छ ।

पनौती नगरपालिका वडा नम्बर ५ मा ५६ परिवारको निःशुल्क बीमा गर्ने सुब्बागाउँ स्वास्थ्य चौकीका इन्चार्ज विनोद प्रसाद कुँइकेलले बताउनुभयो । स्वास्थ्य बीमाप्रति चासो राख्नेहरु पनि बढ्दै गएका दर्ता सहयोगी संगिता गिरीको भनाई छ ।

सरकारले ७० वर्षमाथीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिरहेको । यस्तै ५ जनासम्मको परिवारले ३५ सय रुपैयाँ शुल्क तिरेर १ लाख बराबरको बीमा गर्न सकिन्छ भने त्यसभन्दा माथी प्रतिव्यक्ति ७ सय रुपैयाँ शुल्क थपिने छ ।

पछिल्लो समय बीमा प्रति आकर्षण बढ्दै गएको छ । पनौती नगरपालिकाले सुरु गरेको निःशुल्क सवास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको अर्को महत्वपुर्ण कार्यक्रम मानिएको । कार्यक्रममा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, स्वास्थ्य शाखाका अनिलराज ढुंगेल, रिना पूरी, कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटा लागयतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस