पनौतीमा बाह्र वर्षे मकर मेला सुरू, दर्शनार्थीहरूको घुइँचो (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ माघ १, शनिबार मा प्रकाशित १०७७ पटक पढिएको
पनौतीमा बाह्र वर्षे मकर मेला सुरू, दर्शनार्थीहरूको घुइँचो (भिडियो)

माघ १, काभ्रे। पनौतीको ऐतिहासिक बाह्र वर्षे मकर मेला आज बाट सुरु भएको छ।

प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेलाको पहिलो दिनमै पनौती नगरपालिका वडा नम्बर-७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा दर्शनार्थीहरूको घुइँचो लागेको छ।

आज बिहान १ बजेदेखि नै त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्नेहरुको भिड रहेको छ।

जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न निर्देशन दिएको छ। स्थानीय प्रशासनले २५ जना भन्दा मेला नहुन निर्देशन दिएको छ। स्वास्थ्य मापदण्ड पालना गराउन थुप्रै संख्यामा स्वयंसेवक खटाईएको छ। उनीहरुले मास्क नलगाएका दर्शनार्थिहरुलाई मास्क लगाउन सम्झाई रहेका थिए।

यस्तै नेपाल विद्यार्थी संघ पनौती नगर कमिटीले मास्क नलगाएका दर्शनार्थिहरुलाई ७ सय थान मास्क वितरण गरेको छ। साथै कोभिडको नयाँ भेरियन्टबारे सचेतना जगाउने कार्य गरेको थियो।

मेलामा स्वास्थ्य मापदण्ड पालना खासै नदेखिए पनि दुरी कायम गराउन प्रहरी सक्रिय रहेको थियो।

नगरपालिकाले मकर स्थानको लागि लीलावती र पुण्यमाता खोलामा स्नान गर्न मिल्ने धारा बनाएको छ। एकै पटक धेरै जना हुँदा स्नान गर्न सहज होस् भनी खोलाभित्र बाँस राखिएका छन्। त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टि रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथ डाँडास्थित गोरखनाथलाई चढाउँदा पून्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।

माघ महिनाभर हर्षोल्लासका साथ मनाइने सो मेलामा भारतीय तीर्थलुसमेत आइपुगेका छन्। मकर मेलाको अवसरमा त्रिवेणीघाट क्षेत्रमा पुजा सामाग्री लगायतका पसल राख्नेहरु पनि उत्तिकै छन्।

प्रतिक्रिया दिनुहोस