नमोबुद्ध नगरपालिकाको १७ भन्दा बढी जनप्रतिनिधि र कर्मचारीमा कोरोना, सेवा प्रभावित

नौलो समाचार संवाददाता
२०७८ माघ ४, मंगलबार मा प्रकाशित ४१३ पटक पढिएको
नमोबुद्ध नगरपालिकाको १७ भन्दा बढी जनप्रतिनिधि र कर्मचारीमा कोरोना, सेवा प्रभावित

माघ ४, काभ्रे। नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरै कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ। नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

नगर प्रमुख तिमल्सिनालाई माघ १ गते संक्रमण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज मंगलबार संक्रमण पुष्टि भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार नगरपालिकामा हाल १६-१७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जनप्रतिनिधि र कर्मचारीमा संक्रमण पुष्टि भएसँगै कम्तीमा एक साता नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो। ‘कम्तीमा एक साताका लागि विभिन्न योजना र कार्यक्रमको भुक्तानीसहित अत्यावश्यकबाहेक अधिकांश सेवा प्रभावित हुनेछन्’ पौडेलले भन्नुभयो।

नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्र अनावश्यक भीडभाड नगर्न, बाहिर निस्कदा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सजगता अपनाउन, कुनै लक्षण देखिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आजको तथ्यांकअनुसार नमोबुद्ध नगरपालिकामा ५१ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस