बिदेशीएका युवाले गरे आफ्नै गाउँमा उदाहरणीय काम

नौलो समाचार संवाददाता
२०७८ माघ ४, मंगलबार मा प्रकाशित ४०२ पटक पढिएको
बिदेशीएका युवाले गरे आफ्नै गाउँमा उदाहरणीय काम

माघ ४, ललितपुर। रोजगारीका लागि बिदेसिएका ललितपुर जिल्लाको बागमती गाउँपालिकाका युवाहरुका कारण गाउँको मुहार फेरीएको छ। रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले आफुले कमाएको केहि रकम आफ्नो गाउँको विकासका लागि पठाएका छन् । जसबाट बागमती गाउँपालिका वडा नम्बर ७ स्थित नारायण डाडाँमा श्री नारायणको मन्दिर निर्माण गरिएको छ ।

करिव ७ लाख लागतमा निर्मित मन्दिरका लागि गिम्दी प्रवासी युवा समाजले रकम जुटाएको हो । मगर समुदायको आस्था जोडिएको उक्त मन्दिर निर्माण भएसँगै स्थानीय खुसी भएका छन् । गिम्दी प्रवासी समाजले यसअघि गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने बागमती गाउँपालिकाका लागि एम्बुलेन्स बरदान सावित भएको स्थानीयले बताएका छन् ।

विदेसिएका युवाले कोरोना महामारी लगायतका विपदमा समेत आफ्नो गाउँका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । सबैले आफ्नो ठाउँबाट योगदान गरेमा गाउँको विकास टाढा नरहेको गिम्दी प्रवासी समाजका संयोजक कष्णबहादुर जर्घा मगरले बताउनुभयो ।

आज भन्दा करिव २ सय वर्षअघि उक्त स्थानमा नारायणको मुर्ति स्थापना गरिएको स्थानीयले बताएका छन् । नारायणको मुर्ति स्थापना गरेपछि उक्त ठाउँको नाम नै नारायण डाँडा रहन गएको हो । यस ठाउँमा आदिकालदेखी नै मगर समुदायको बसोबास रहेको छ ।

त्यस ठाउँमा करिब २ सय वर्षअघि हैजा लगायतका रोगको महामारी फैलिएको थियो । महामारीका कारण धेरैले ज्यान गुमाउनुपर्यो । लामो समयसम्म महामारी नरोकिएपछि कारण खोजी भयो । वुझ्दै जाँदा गाउँका जान्ने वुझ्ने र अग्रजले नारायण डाँडा स्थित वर पिपलको रुखसँगै नारायणको मुर्ति स्थापना गरि पुजाआजा गरेमा महामारी हट्ने बताए । सोहि अनुसार मुर्ति स्थापना गरेर पुजापाठ गर्नाले महामारी हटेको जनविश्वास छ । सोहि समयदेखी नारायण डाँडामा नारायणको मुर्ति स्थापना गरी पुजाआजा गरिँदै आइएको छ ।

नारायण डाँडामा मगर समुदायको मुख्य चाडपर्व मध्येको माघे सक्रान्तिको अघिल्लो दिन पुजापाठ गरिन्छ भने सोहि रातमा जात्रा समेत लाग्ने गर्दछ । मेलामा लालितपुर काठमाण्डौं, काभ्रे, मकवानपुर लगायतका विभिन्न क्षेत्रबाट मानिसहरु त्यहाँ पुग्ने गर्दछन् ।

वि.स. २०४३/४४ मा बहुमुल्य नारायणको मुर्ति चोरी भयो । खोज्दै जाँदा ३÷४ महिनापछि उक्त मुर्ति फेला परेको थियो । तर २०५५ सालतिर उक्त मुर्ति फेरी चोरी भएको स्थानीयले बताएका छन् । उक्त मुर्ति अहिलेसम्म भेटिएको छैन । नारायणको मुर्ति र घण्टाहरु चोरी भएपछि उजाड डाँडाका रुपमा रहेको नारायण डाँडामा गिम्दी प्रवासी युवा समाजको पहलमा आकर्षक नारायणको मुर्ति सहितको मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणसँगै स्थानीयको आस्था र विश्वास ठडिएको स्थानीय युवा अमिर थापा मगरले बताउनुभयो ।

त्यस ठाउँमा अहिले भव्य कार्याक्रमकाबीच मन्दिर उद्घाटन समेत गरिएको छ । मन्दिर उद्घाटन गाउँपालिका अध्यक्ष बिरबहादुर लोप्चनले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले विदेसिएका युवाले खेलेको भुमिकाको प्रसंसा गर्दै नारायण डाँडालाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले प्रवासी युवाहरुले यसअघि उपलब्ध गराएको एम्बुलेन्सले गाउँपालिकामा पुर्याएको योगदानको पनि स्मरण गर्नुभयो । यस्तै आफ्नो ठाउँको विकास हाम्रो पनि जिम्मेवारी हो भन्ने ठानेर प्रवासी युवा समाजले उदाहरणीय काम गरेको भन्दै गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरेले खुसी व्यक्त गर्नुभयो ।

विदेशी भुमिमा पसिना बगाएर आफ्नो भुमिका लागि गरेको माया कहिल्यै नविर्सने उहाँको भनाई थियो । मन्दिर निर्माण तथा मन्दिरको धार्मिक, ऐतिहासिक महत्व खोजी गर्नका लागि स्थानीय राजु केछाकी मगर, पशुपति ग्यामी मगर, सागर थापा लगायतले महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । मन्दिर उद्घाटनकै अवसर पारेर सहयोगी प्रवासीका परिवारलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । आफ्नो ठाउँको लागि थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको गिम्दी प्रवासी युवा समाजका सदस्य शुक्रराज सिंतानको भनाई छ । आगामी दिनमा पनि सहयोग निरन्तर रहने अर्का सदस्य विष्णु सुजन दाहाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस