६ हजार भन्दा बढी वाणिज्य बैंकका कर्मचारीमा कोरोना, देशभर १४२ शाखा बन्द (सूचीसहित)

नौलो समाचार संवाददाता
२०७८ माघ १०, सोमबार मा प्रकाशित ७६२ पटक पढिएको
६ हजार भन्दा बढी वाणिज्य बैंकका कर्मचारीमा कोरोना, देशभर १४२ शाखा बन्द (सूचीसहित)

माघ १०, काठमाडौं। पछिल्लो दुई साता यता कोरोना भाइरसको संक्रमण जोखिमको असर बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा देखिएको छ।

मुलुकमा हरेक दिन १० हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भइरहँदा यसबाट वाणिज्य बैंकमा कार्यरत कर्मचारी पनि अछुतो छैनन् ।

कर्मचारीमा कोरोना संक्रमण देखिन थालेसँगै सतर्कता अपनाउँदै यसबीचमा वाणिज्य बैंकका करिब ३ प्रतिशत शाखा कार्यालय बन्द भएका छन् । हाल देशभर ४ हजार ८४७ वटा बैंकका शाखा कार्यालय सञ्चालनमा छन् ।

यसबीचमा वाणिज्य बैंकमा कार्यरत ६ हजार २१३ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । कर्मचारीमा कोरोना संक्रमण हुन थालेपछि बैंकिङ सेवा प्रभावित बनेको हो ।

नेपाल बैंकर्स संघले सोमबार विहान उपलब्ध गराएको तथ्यांक अनुसार हाल मुलुकभरका १४२ वटा शाखा कार्यालय कोरोना भाइरस संक्रमणको जोखिमसँगै बन्द भएका हुन् । जसकारण १४२ शाखा कार्यालयबाट उपलब्ध बैंकिङ सेवा बन्द भएको छ । यता नेपाल राष्ट्र बैंकले पनि कोरोना महामारीको उच्च जोखिम भएसँगै बैंक तथा वित्तीय संस्थालाई सकेसम्म सेवा भौतिक उपस्थितीमा हुने कार्य कम गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा विभिन्न वाणिज्य बैंकका ९४ वटा शाखा कार्यालय बन्द भएका छन् । साथै, प्रदेश नम्बर १ मा १४ वटा कार्यालय, गण्डकी प्रदेशमा १३ वटा, लुम्बिनी विभिन्न प्रदेशमा वाणिज्य बैंकका ८ वटा शाखा कार्यालय बन्द भएका छन् । त्यसैगरी मधेश र सुदुरपश्चिम प्रदेशमा ५/५ वटा र कर्णाली प्रदेशमा ३ वटा शाखा कार्यालय बन्द छन् ।

सबैभन्दा बढी एनआईसी एशियाको शाखा बन्द
बैंकर्स संघका अनुसार हालसम्म १७ वटा वाणिज्य बैंकका १४२ वटा शाखा कार्यालय बन्द भएका छन् । जसमा सबैभन्दा बढी एनआईसी एशिया बैंकका ३५ वटा शाखा कार्यालय बन्द भएका छन् । साथै नबिल बैंकका १९ वटा, प्राइभ बैंक र राष्ट्रिय वाणिज्य बैंकका १५/१५ वटा शाखा कार्यालय बन्द भएका छन् ।

साथै, प्रभु बैंकका ९ वटा, सेञ्चुरी बैंका ८ वटा, सिभिल र मेगा बैंकका ७/७ वटा, सनराइज बैंका ६ वटा, ग्लोबल आईएमई बैंकका ४ वटा शाखा कार्यालय बन्द भएका छन् । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट, एनएमबि र सिद्धार्थ बैंकले ३/३ वटा शाखा कार्यालय बन्द गरेका छन् भने कुमारी र माछापुछ्रे बैंकले २/२ वटा र नेपाल बंगलादेश बैंकले एउटा शाखा कार्यालय बन्द गरेका छन् ।

बन्द शाखाहरुको (सूची)


प्रतिक्रिया दिनुहोस