पनौती नगरपालिकाले गर्यो २ हजार भन्दाबढी नागरिकको नि:शुल्क ‘स्वास्थ्य बिमा’, फागुन १ गतेबाट स्वास्थ्य सेवा लिन पाउने

नौलो समाचार संवाददाता
२०७८ माघ ११, मंगलबार मा प्रकाशित ७३७ पटक पढिएको
पनौती नगरपालिकाले गर्यो २ हजार भन्दाबढी नागरिकको नि:शुल्क ‘स्वास्थ्य बिमा’, फागुन १ गतेबाट स्वास्थ्य सेवा लिन पाउने

माघ ११, काभ्रे। पनौती नगरपालिकाले पहिलो चरणमा ‘मेयर विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सम्पन्न गरेको छ।

आज (मंगलबार) पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले स्वास्थ्य बिमा बोर्ड काभ्रेलाई स्वास्थ्य बीमा बापतको प्रीमियम रकम हस्तान्तरण गरे संगै बिमा कार्यक्रमको पहिलो चरण सम्पन्न भएको हो।

पनौती नगरपालिकाले वडा समितिको सिफारिस अनुसार विपन्न दलित, जनजाती, अपांगता भएका व्यक्ति र एकल परिवारको निःशुल्क बीमा गर्ने योजना अन्तर्गत बिमाको कार्यक्रम गरिरहेको छ।

‘मेयर विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्तरगत पहिलो चरणमा नगरपालिकाले १० वटा वडाका ४७५ परिवारको स्वास्थ्य बिमा सम्पन्न गरेको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सिनाले जानकारी दिनुभयो। ४७५ परिवारका २ हजार ३७ जना भन्दा बढी व्यक्ति विमित भएका छन्।

आर्थिक अभावकै कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य बिमा गरेका ४७५ घरपरिवारका २ हजार ३७ जनाले आगामी फागुन १ गतेबाट धुलिखेल अस्पतालमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।

स्वास्थ्य बिमा अन्तर्गत नगरपालिकाका ६ सय भन्दा बढी परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो। दोश्रो चरणको कार्यक्रममा यो लक्ष्य पुरा गर्ने तिमल्सिनाले बताउनुभयो।

बिमित नागरिकका लागि पहिलो सेवा लिने स्थान धुलिखेल अस्पताल र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा तोकिएको छ।

प्रीमियम रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपाने सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सिना तथा बिमा बोर्डका तर्फबाट मिलन उप्रेती लगायतका व्यक्तित्व सहभागी हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस