नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, २१ लाख ५९ हजार नेपाली विदेशमा

नौलो समाचार संवाददाता
२०७८ माघ १२, बुधबार मा प्रकाशित ८४० पटक पढिएको
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार, २१ लाख ५९ हजार नेपाली विदेशमा

माघ १२, काठमाडौं। नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

सार्वजनिक विवरणानुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ ।

नेपालमा पहिलोपटक वि.सं. १९६८ मा जनगणना भएको थियो । वि.सं. १९७७ र १९८७ मा जनसंख्या वृद्धिदर नेगेटिभ भएकोमा त्यसपछि वार्षिक जनसंख्या वृद्धिदर २०७८ को जनगणनामा कम पाइएको विभागले जनाएको छ ।

२१ लाख ५९ हजार नेपाली विदेशमा

२१ लाख ५९ हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू नेपालको अक्सर विदेशमा बसोबास गरेको देखिएको हो । त्यसमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८%) र चार लाख ६ हजार १०३ महिला (१८.७२%) रहेका छन् ।

१० वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू)को संख्या १९ लाख २१ हजार ४९४ थियो । त्यसमध्ये पुरुष १६ लाख ८४ हजार २९ (८७.६४%) र महिला दुई लाख ३७ हजार ४०० (१२.३६%) थिए। २०६८ को तुलनामा ०७८ मा विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस