नमोबुद्ध नगरको एघारौं नगरसभा सम्पन्न

नौलो समाचार संवाददाता
२०७८ माघ २६, बुधबार मा प्रकाशित ५६५ पटक पढिएको
नमोबुद्ध नगरको एघारौं नगरसभा सम्पन्न

माघ २६, काभ्रे। नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभा बुधबार सम्पन्न भएको छ।
नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा बुधबार बसेको एघारौं नगरसभाको दोस्रो बैठकले संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पारित गरेको छ ।

नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पेश गर्नुभएको थियो। नगरसभाको बैठकले सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो।

यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पनि नगरसभाको बैठकले पारित गरेको छ। संघसंस्था सम्वन्धी विधेयक र विनियोजन विधेयक संशोधन प्रस्ताव गत पुस २९ गते बसेको एघारौं नगरसभाको पहिलो बैठकमा पेश गरिएको थियो।

नमोबुद्ध नगरपालिकाले एघारौं नगरसभा सम्पन्न गरिसक्दा ७० वटा ऐन नियम बनाइसकेको छ। पाँच बर्षे कार्यकालको अन्तिम चरणमा एघारौं नगरसभासम्म आइपुग्दा जनप्रतिनिधिहरुबीच सहमति र सहकार्यमै नगर विकासको कार्य गर्नुका साथै आवश्यक ऐन नियम, निर्देशिका र कार्यविधिहरु तयार पारेर कार्यान्वयन गरिएको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताउनुभयो।

नगरसभाको बैठकमा नगरसभाका सदस्यसचिव एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण पेश गर्नुभएको थियो। जसअनुसार नमोबुद्ध नगरपालिकामा चालु आर्थिक बर्षका लागि ७२ करोड ६६ लाख ९२ हजार ६ सय ६१ रुपैयाँ विनियोजन भएकोमा २५.४५ प्रतिशत अर्थात १८ करोड ५० लाख ८ हजार ५ सय १ रुपैयाँ खर्च भएको छ ।

नगरपालिकाबाट यो बर्षका लागि १ सय ४३ वटा योजना छुट्याइएकोमा अधिकांश योजनाको काम सुरु भइसकेको पौडेलले जानकारी दिनुभयो। काम सम्पन्न भएपछिमात्रै ती योजनाको रकम भुक्तानी हुने भएकाले वित्तीय प्रगति कम देखिएको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस