पनौतीमा बर्डफ्लु लगायतका महामारीजन्य रोग सम्बन्धि अन्तरक्रिया

नगर क्षेत्रका कुखुरा पोल्ट्री ब्यवशायीलाइ सम्पर्कमा आउन आग्रह
नौलो समाचार संवाददाता
२०७८ फागुन ११, बुधबार मा प्रकाशित ८२९ पटक पढिएको
पनौतीमा बर्डफ्लु लगायतका महामारीजन्य रोग सम्बन्धि अन्तरक्रिया

फागुन ११, काभ्रे। पनौतीमा बर्डफ्लु लगायतका महामारीजन्य रोग सम्बन्धि अन्तरक्रिया गरिएको छ। आज नगरपालिका हलमा कृषि तथा पशुपन्छी शाखाको आयोजनमा भएको कार्यक्रममा महामारीजन्य रोगबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको थियो।

कुखुरा तथा पन्छीजन्य पोल्ट्री व्यवशायमा बर्डफ्लु लगायतका महामारीजन्य रोग कसरी सर्छ र यसबाट हुने क्षती न्यूनीकरण तथा नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो।

कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले नगरक्षेत्रका पोल्ट्री ब्यवशायीहरुलाई कुखुरा तथा पन्छीमा रोग देखा परेमा नलुकाउन आग्रह गर्नुभयो। ‘रोग लुकाऊदा आफ्नो त क्षति हुन्छ नै आफ्नो क्षेत्रका अन्य पोल्ट्री ब्यवशाय पनि सखाप हुन्छ, समयमै कृषि तथा पशुपन्छी शाखामा खबर गरे नगरपालिकाले केहि सहयोग गर्न सक्छ’ उहाले भन्नुभयो।

नेपालमै पहिलो पटक काभ्रेमा ब्रोइलर चल्लाको माउ उत्पादन गर्न कब नेपालले ग्रान्ड प्यारेन्ट फर्म स्थापना गरिसकेको र अब ब्रोइलर चल्लाको माउ विदेशबाट किनेर ल्याउनुपर्ने झन्झट नहुने प्रमुख सापकोटाले जानकारी दिनुभयो।

यस्तै कार्यक्रममा नगर प्रमुख भिम न्यौपानेले नगर क्षेत्रमा रहेका कुखुरा तथा पन्छीजन्य व्यवशायीले अनिवार्य रुपमा नगरपालिकामा दर्ता हुन अनुरोध गर्नुभएको छ। नगरपालिकामा दर्ता हुदा व्यवशायीहरुको लागि विभिन्न कार्ययोजना बनाउन सकिने र रोगप्रकोप लागेर व्यवशायमा परेको क्षतिमा सहयोग गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो। रोग नियन्त्रण गर्न पनि सहज हुने उहाँको भनाई छ।

यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगर क्षेत्रमा बेचबिखन हुने पशुपन्छी जन्य मासुको सरसफाईमा पनि ध्यान दिनु जरुरी रहेको औल्याउनुभयो। सरसफाईमा ध्यान नदिदा यसबाट पनि रोगको प्रकोप बाधन सक्ने भन्दै जनस्वास्थ्यलाई मध्येनजर गर्दै  नगर क्षेत्रमा एउटा पशु बाधशालको आवश्यकता रहेको बताउनुभयो।

यसैगरी, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईंले नगर क्षेत्रमा रहेका सबै कुखुरा व्यवशायीलाई सम्पर्कमा आउन आग्रह गर्दै किसानहरु सम्पर्कमा हुदा तथ्यांक संकलन हुने र आवश्यकता परेको बेलामा सहयोग जुटाउन सहज हुने उल्लेख गर्नुभयो। किसानको पिडा आफुले बुझेको बताउदै उहाँले किसानको हितमा गर्नुपर्ने कुनै पनि सहयोग गर्न आफु तयार रहेको बताउनुभयो।

कार्यक्रममा कब नेपालका प्रविधिक प्रमुख डाक्टर सुदिप केशब हुमागाईंले कुखुरा तथा पन्छीमा लाग्ने विभिन्न रोग र उपचार र मानिसमा पर्ने प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षतामा पनौती नगरपालिका कृषि तथा पशुपन्छी विकास समितिका संयोजक गुणनाथ सापकोटा रहनुभएको थियो। वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो।

काभ्रेका विभिन्न पलिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुखहरु, पन्छी बिशेषज्ञ, पशु चिकित्सक, कुखुरा तथा पन्छी व्यवशायीहरु, ह्याचरी व्यवशायीको उपस्थित रहेको थियो।

कृषि तथा पशुपन्छी शाखा पनौतीका कृषि अधिकृत लिलानाथ सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस