एमसिसी पारित गर्ने सर्तमा गठबन्धन तोड्न प्रधानमन्त्री तयार, एमालेलाई सरकारमा आउन आग्रह

नौलो समाचार संवाददाता
२०७८ फागुन १२, बिहिबार मा प्रकाशित ६२८ पटक पढिएको
एमसिसी पारित गर्ने सर्तमा गठबन्धन तोड्न प्रधानमन्त्री तयार, एमालेलाई सरकारमा आउन आग्रह

फागुन १२, काठमाडौँ। एमालेको सहयोगमा एमसिसी पारित गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएका छन्। पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले केही दिनभित्रै एमालेको समर्थनमा एमसिसी पारित गर्ने भएका हुन्।

गठबन्धन तोड्न दबाब दिइरहेको एमालेको चाहनाअनुसार प्रधानमन्त्री देउवाले माओवादी र एकीकृत समाजवादीको साथ छाड्ने भएका हुन्। भित्री रुपमा सघन छलफलमा रहेका कांग्रेस र एमालेका नेताहरुबीच बिहीबार दुई चरणमा शीर्ष नेताहरुबीच भएको छलफलपछि गठबन्धन भत्किने चरणमा पुगेको हो।

दिउँसो संसद भवन नयाँ बानेश्वरमा देउवा र एमाले अध्यक्ष केपी ओलीले दोस्रा तहका नेताहरुसहित छलफल गरेका थिए भने सहमतिलाई अन्तिम रुप दिन एमाले नेताहरु बेलुका ७ बजे बालुवाटार पुगेका थिए।

दिउँसो भएको छलफलपछि महामन्त्री गगन थापाले एमसिसी पारित गर्न सहयात्री दलले सहयोग नगर्ने भएपछि गठबन्धनको औचित्य सकिएको घोषणा गरेका थिए।

एमालेको समर्थनमा एमसिसी पारित गर्ने सहमति भए पनि भावी सत्ताबारे दुई दलबीच ठोस रुपमा कुरा मिलिनसकेको स्रोतले बतायो। देउवाले एमालेलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

त्यस्तै सभामुख अग्नि सापकोटालाई हटाउने विषयमा र माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने विषयमा समेत देउवा छलफल गर्न तयार भएको बुझिएको छ। तत्काल सभामुख हटाउन लाग्दा एमसिसी पारित गर्न ढिलाइ हुने भएकाले फागुन १६ भित्रै निर्णयमा पुग्न कांग्रेस-एमाले करिबकरिब सहमत भएका छन्।

बिहीबार एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची भए पनि प्रधानमन्त्रीको आग्रहमा स्थगित भएको थियो। माओवादीका सांसदले सैद्धान्तिक छलफल गर्नै नदिने गरी तयारी गरेपछि देउवाको निर्देशनमा बैठक सूचना टाँसेर स्थति गरिएको छ।

एमाले अध्यक्ष ओली संसद विघटन गरेर ६ महिनाभित्रै संसदको चुनावमा जानुपर्ने पक्षमा छन् भने देउवा एमालेलाई सरकारमै ल्याएर पूर्ण अवधि सदन चलाउने तयारीमा छन्।

बालुवाटारको बैठक सकिएपछि एक नेताले कुरा गर्दै एमालेको सहयोगमा गठबन्धन तोड्न देउवा तयार भएको जानकारी दिए।

बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी पारित गर्न विपक्षी एमालेसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस