बनेपाको आशापुरी ढुंगा खानीमा सुख्खा पहिरो, १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ फागुन १५, आईतबार मा प्रकाशित १३५७ पटक पढिएको

बनेपाको आशापुरी ढुंगा खानीमा सुख्खा पहिरो, १ जनाको मृत्यु

फागुन १५, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीस्थित आशापुरीरोडा ढुंगा सप्लायर्समा सुक्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।

सुक्खा पहिरोमा पुरिएर रामेछापको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल भक्तपुर ठिमी बस्ने टिपर चालक आन्दाजी ३२ बर्षीय श्याम मगर मृत्यु भएको हो।

आज ढुंगा लोड गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा प्रदेश ३-०२-००३ क ५७४८ नम्बरको टिपर सहित श्याम पहिरोमा पुरिएका थिए।

पहिरोमा २ वटा स्काभेटर, ३ वटा टिपर, १ निशान गाडी पुरेको थियो ।

घाईते हुनेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीका २९ बर्षीय सिन्दमन तामाङ रहेका छन् । स्काभेटर चालक तामाङको छाती र टाउकोमा चोट लागेको छ। उनको अबस्था भने मध्यम रहेको छ ।

त्यस्तै अर्का घाइते खोटाङको खोटाङ गाउँपालिका वडा नम्बर २ भई हाल बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीका २२ बर्षीय रमेश सार्को रहेका छन् । उनि स्काभेटरका सह-चालक हुन्। उनको टाउको र खुट्टामा चोट लागेको छ । दुबै घाईतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मध्यपुर ठिमीमा उपचार भइरहेको छ ।

काभ्रे र भक्तपुरको सीमा रहेको खानीमा दुवैतर्फका जनप्रतिनिधीको लगानी भएकोले पहुँचका आधारमा अवैध खानी सञ्चालनमा आएको स्थानीयको गुनासो छ । आशापुरी खोला नजिकै जोडिएको खानीले धुलो समेत खोला नजिकै थुपारेकोले बाढीको जोखिम भएको स्थानीय बताउँछन् ।

घटनापछि स्थलगत पुग्नुभएकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जोखिम अझै रहेकाले प्राविधिक अध्ययन बिना केही समय उत्खनन् नगर्न निर्देशन दिनुभएको छ।






प्रतिक्रिया दिनुहोस


↑