पस्थली वृहत खानेपानी समितिमा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नौलो समाचार संवाददाता
२०७८ फागुन २८, शनिबार मा प्रकाशित ९३९ पटक पढिएको
पस्थली वृहत खानेपानी समितिमा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

फागुन २८, काभ्रे। पस्थली वृहत खानेपानी जल उपभोक्ता समितिको १६ औं साधारण सभा सम्पन्न भएको छ। पनौती नगरपालिका १०, पस्थलीमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ।

मिनबहादुर भण्डारीको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष प्रमिला अधिकारी महत, सचिव मधु लामा, कोषाध्यक्ष सहदेब कुँवर रहनुभएको छ। यस्तै सदस्यहरुमा राजकुमार कुँवर, राजन भण्डारी, कुमार लामा, प्रेम लामा ब्लोन, अम्बिका केसी, ज्ञानु केसी, प्रकाश केसी रहनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले नयाँ कार्यसमितिलाई शुभकामना दिदै पस्थली बृहत खानेपानी समितिलाई नगरपालिकाबाट आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

समितिका अध्यक्ष मिनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले खानेपानी समितिलाई आफ्नो र वडाको सहयोग निरन्तर रहेको र यो नरोकिने  बताउनुभयो।

कार्यक्रममा समितिका कोषाध्यक्ष दामोदर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

४ सय घरधुरी खानेपानीबाट लाभान्वित भएको समितिका नव निर्वाचित कोषाध्यक्ष सहदेब कुँवरले जानकारी दिनुभयो।

स्वर्गीय भरतराज महत (भूतपूर्व गाविस अध्यक्ष)को पहलमा बेथानचोकको ४ नम्बर वडाको सिरानीबाट २०६० सालमा ७ किलो मिटरको दुरी हुदै यो खाने पानी पस्थलीसम्म ल्याउन सकिएको हो।

समितिको साधारण सभा प्रत्येक २/२ वर्षमा हुने गर्दछ। कार्यक्रम संचालन समितिका सचिव मधु लामाले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस