आजबाट काँग्रेसको एक महिने चुनावी अभियान, ७७ जिल्ला पुगे केन्द्रीय प्रतिनिधि

नौलो समाचार संवाददाता
२०७८ फागुन २९, आईतबार मा प्रकाशित ७३२ पटक पढिएको
आजबाट काँग्रेसको एक महिने चुनावी अभियान, ७७ जिल्ला पुगे केन्द्रीय प्रतिनिधि

फागुन २९, काठमाडौं। सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार (आज)बाट सुरु गर्दैछ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो।

अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म काँग्रेसले अभियान थाल्दै छ ।

प्रवक्ता महतका अनुसार काँग्रेसलाई चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन अभिवृद्धि गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ। महतले अभियानका क्रममा स्थानीय निर्वाचनमा काँग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गरिने बताउनुभयो।

पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरिएको उहाँको भनाइ छ । अभियान सञ्चालनअघि नै काँग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ।

टोल समिति गठनलाई पनि उसले तीव्रता दिएको छ।


प्रतिक्रिया दिनुहोस