देशका पहाडी भेगमा आज होली पर्व मनाईदै

नौलो समाचार संवाददाता
२०७८ चैत्र ३, बिहिबार मा प्रकाशित ५६१ पटक पढिएको
देशका पहाडी भेगमा आज होली पर्व मनाईदै

चैत ३, काठमाडौं। काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा आज बिहीबार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईदैछ।

हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ।

बिहीबार हिमाली र पहाडी जिल्लामा फागु पर्व मनाईदै छ भने तराई भेगमा भोलि शुक्रबार होली मनाइने छ ।

यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रङ लगाएर यो पर्व मनाउने गरिन्छ । रङ घोलेको पानी छ्यापाछ्याप पनि गर्ने गरिन्छ ।

फागु पूर्णिामाको अवसरमा बुधबार नै पशुपतिनाथलाई भक्तजनले लोला प्रहार गरेर अबिर चढाएका छन् ।

विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ ।

होली सुरु भएको संकेतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो । काठमाडौंको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याएको लिंगोमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ ।

यसैगरी, हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिएको छ । यो चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो । नेपाली सेनाको शार्दुल जङ गुल्मको टोली धलासिक्वका मानन्धर समूह र गुठी संस्थानका अधिकारीको उपस्थितिमा दरबारका यत्रतत्र चोकमा चीर ठड्याइएको छ । यो चीर आज राती मध्यरातमा ढालेपछि पर्व समापन हुन्छ  ।


प्रतिक्रिया दिनुहोस