पिच नगरिएको भन्दै पनौती-नमोबुद्ध सडकमा स्थानीयको अवरोध

नौलो समाचार संवाददाता
२०७८ चैत्र ६, आईतबार मा प्रकाशित ९४१ पटक पढिएको
पिच नगरिएको भन्दै पनौती-नमोबुद्ध सडकमा स्थानीयको अवरोध

चैत ६, काभ्रे। पिच नगरिएको भन्दै पनौती नमोबुद्ध सडकछेउका स्थानीयले सवारी आवागमनमा अवरोध गरेका छन्।

पनौती बसपार्कको पुर्व तर्फको नमोबुद्ध रोडमा धेरै टिपर चल्ने र पिच नहुदा धुलो र धुवाले जनस्वास्थ्यमा असर गरेको भन्दै स्थानीयले टिपरको आवागमनमा अवरोध गरेको बताएका छन्।

उनीहरुले २ घण्टा सडकमा ढुंगा राखेर अबरोध गरेका थिए।

मकर मेलाको समयमा पिच गर्ने भनिएको सडक आजका दिनसम्म पनि काम अगाडी नबढेकोले दवाब स्वरुप सडक अबरोध गर्नुपरेको स्थानीय रामशरण प्रजापतिले बताउनुभयो।

पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले यहि १० गतेबाट पिचको काम सुरु गर्ने बताएपछि अबरोध हटाईएको प्रजापतिले बताउनुभयो। तर काम सुरु नभएसम्म टिपरको आउजाउ बन्द गरिरहने स्थानीयले अडान राखेका छन्।

नगरपालिका र वडा अध्यक्ष प्रति आक्रोश पोख्दै उनीहरुले मकर अघिदेखि नै आश्वासन मात्र पाएको तर काम नभएको बताएका छन्।

अन्य सवारीसाधन आवागमन नरोक्ने तर टिपर चल्न नदिने उनीहरुले बताएका छन्।

अचानक बाटोमा अवरोध हुदा पनौतीबाट लोड बोकेर जादै गरेका टिपरको निकै लामो लाईन लागेको थियो।

बनेपा तर्फबाट आएका र पनौतीबाट जान लागेका सबै टिपरलाइ आएकै ठाउँ तर्फ पठाईएको स्थानियहरुले बताएका छन्।

बेलुका पनि टिपर आउजाउ गर्न नदिने उनीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस