काभ्रेमा म्यादी प्रहरीका लागी आज एकैदिन ४ सय ५० जनाद्वारा दरखास्त

नौलो समाचार संवाददाता
२०७८ चैत्र ६, आईतबार मा प्रकाशित ८२५ पटक पढिएको
काभ्रेमा म्यादी प्रहरीका लागी आज एकैदिन ४ सय ५० जनाद्वारा दरखास्त

चैत ६, काभ्रे। स्थानीय तहको निर्वाचनका लागि आजबाट खुल्ला गरिएको म्यादी प्रहरीका लागी काभ्रेमा एकै दिन ४ सय ५० जनाले दरखास्त दिएका छन्।

आज आवेदनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुगेका अधिकाश निवेदकहरु युवा-युवतीहरु देखिन्थे।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार काभ्रेमा आज ३ सय ९२ जना पुरुष र ९८ जना महिला गरी ४ सय ५० जनाले म्यादी प्रहरीमा भर्ना हुनका निमित्त दरखास्त पेश गरेका छन्।

काभ्रेमा १४ सय ९५ जना म्यादी प्रहरी माग गरिएको सूचना अधिकारी खतिवडाले बताउनुभयो।

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस