काभ्रेमा एमालेबाट पूर्व क्षेत्रीय सभापतिसहित पूर्वगाविस अध्यक्ष र उपाध्यक्ष कांग्रेसमा प्रवेश

नौलो समाचार संवाददाता
२०७८ चैत्र ९, बुधबार मा प्रकाशित ७०४ पटक पढिएको
काभ्रेमा एमालेबाट पूर्व क्षेत्रीय सभापतिसहित पूर्वगाविस अध्यक्ष र उपाध्यक्ष कांग्रेसमा प्रवेश

चैत ९, काभ्रे। स्थानीय तह निर्वाचन नजिकिएसँगै काभ्रेमा विभिन्न पार्टी छाडि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ। काभ्रेको धुलिखेलमा बुधबार आयोजित एक कार्यक्रममा एमालेका पूर्व गाविस अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा काभ्रे एमालेका प्रभावशाली नेता पूर्व क्षेत्रीय सभापति रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो।

उक्त अवसरमा हुमागाईंसहित नेकपा एमालेका प्रभावशाली नेता एवं तत्कालिन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष कृष्णबहादुर बस्नेत पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा धुलिखेल नगरपालिकाका वर्तमान वडाध्यक्ष निराजन जंगम, पूर्ववडाध्यक्ष दामोदर तिमिल्सिनाका साथै नगरसदस्यहरुसहित ३ सय भन्दा बढी कार्यकर्ता तथा सर्वसाधारण थिए।

विगत चार दशकदेखि एमालेमा सक्रिय रहेर क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहेका हुमागाईंले आफ्नो पूर्वपार्टीले मदन भण्डारीको नीति र सिद्धान्तलाई पाखा लगाउँदै, पार्टीको सिद्धान्तलाई अपहेलना गरेकोले आफूले एमाले छाडेको बताए। आफू नेपाली कांग्रेस प्रवेश गरिसकेपछि पार्टी सुदृढीकरणका लागि हार्दिकताका साथ अगाडि बढ्दै कांग्रेसमय काभ्रे बनाउने अभियानमा लाग्ने प्रण पनि हुमागाईंले गर्नुभयो।

नेपाली कांग्रेस मात्र नभएर मुलुकलाई नै अगाडि बढाउने जिम्मा कांग्रेसको भएको बताउँदै त्यसकार्यमा आफ्नो पनि सहभागीता रहने विश्वास दिलाउनुभयो।

उक्त पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य गणेश लामा, नेपाली कांग्रेस वागमती प्रदेश महामन्त्री कञ्चन बादे, जिल्ला सभापति तीर्थ लामालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम धुलिखेल नगरपालिकाका कांग्रेस सभापति विदुरबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस