स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा ३० दल दर्ता

नौलो समाचार संवाददाता
२०७८ चैत्र १९, शनिबार मा प्रकाशित ९१५ पटक पढिएको
स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा ३० दल दर्ता

चैत १९, काभ्रे। आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेमा ३० दल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन्। त्यस्तै अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख उमेशकुमार राईले बताउनुभयो

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन्। काभ्रेमा दर्ता भएका ३० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने राईले बताउनुभयो।

निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ। आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ।

काभ्रेमा ३ लाख ३ हजार ५६० मतदाता रहेका छन्। यसमध्ये १ लाख ५४ हजार १८३ पुरुष, १ लाख ४९ हजार ३७५ महिला र अन्य दुईले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनका लागि जिल्लामा १८९ मतदानस्थल र ३८१ मतदान केन्द्र व्यवस्थित गर्ने भएको हो। जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन्।

यो पनि पढ्नुस:- काभ्रेमा ३ लाख ३ हजार ५६० मतदाता, सबैभन्दा धेरै मतदाता पनौतीमा

 

प्रतिक्रिया दिनुहोस