माछा संरक्षणकालागि पनौती लिलावती खोलामा ५० हजार माछाका भुरा छाडिए

नौलो समाचार संवाददाता
२०७८ चैत्र २४, बिहिबार मा प्रकाशित २१४५ पटक पढिएको

माछा संरक्षणकालागि पनौती लिलावती खोलामा ५० हजार माछाका भुरा छाडिए

चैत २४, काभ्रे। पनौती नगरपालिकाले माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाँडेको छ।

नगरपालिकाको वडा नम्बर-१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका भुरा छाडिएको हो।

केही बर्ष अघिसम्म लिलावती खोलामा असला माछा पाइने गरेपनि केही समय यता माछा मार्न बिषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न थालेपछि माछा लोप भएको स्थानीयको भनाई छ। उक्त खोलामा अझै पनि केहि स्थानीय जातका माछा पाईने गरेको उनीहरुले बताए।

पछिल्लो समय मानवीय गतिविधीले माछाको जीवन चक्र वातावरणीय प्रणालीमा असर पारेपछि सन्तुलनका कायम गर्न मद्दत गर्ने पनौती नगरेपलैका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। माछाका भुरा छाडिएको खोला क्षेत्रमा १ बर्षसम्म माछा मार्ने काम गर्न नपाईने उहाँले बताउनुभयो। करेन्ट र विषादी प्रयोगले खोलाका माछा लोप हुने खतरा बढेपछि माछाका भुरा छाडिएको उहाँको भनाई छ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले ताल र खोलाको जैविक विविधता कायम गर्न र यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको बताउनुभयो। छाँडिएका माछाका भुरा केही समयमै आम्दानीको स्रोत बन्ने भएकाले यसको संरक्षण गर्न स्थानीय पनि लाग्नुपर्ने बताउनुभयो। पनौती क्षेत्रका अन्य खोला र नदीमा पनि माछाका भुरा छाड्ने कार्यक्रमलाई विस्तार गरिदै लैजाने योजना रहेको पनि  न्यौपानेले बताउनुभयो।

यस्तै, उपप्रमुख गिता बञ्जाराले खोला र माछा स्थानीयको सम्पत्ति भएकोले यसको संरक्षण गर्नु पनि स्थानीयको दायित्व भएको बताउनुभयो। यस कार्यले आम मानिसको आयस्रोतमा बृद्धि गराउने र रैथाने प्रजातीको संरक्षण गर्ने उपप्रमुख बञ्जाराले बताउनुभयो।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिकाले जैविक बिबिधताको जोगाउन माछाको भुरा बितरण गरिएको बताउनुभयो। यसबाट पर्यटकीय गतिविधी बढ्ने र चराको समेत संरक्षमा हुने आशा आफूहरुले गरेको बताउनुभयो।

माछा जोगाउन  र संरक्षण गर्नको लागि ठाँउ-ठाउँमा होर्डिङ बोर्ड समेत राखिएको छ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर-१ का अध्यक्ष गुणनाथ सापकोटा, पनौती ३ का अध्यक्ष किशोर थापा, स्थानिय, समाजसेवी, तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस