रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, आज सार्वजनिक बिदा

नौलो समाचार संवाददाता
२०७८ चैत्र २७, आईतबार मा प्रकाशित ५६८ पटक पढिएको
रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, आज सार्वजनिक बिदा

चैत २७, काभ्रे। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर  श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस