पनौतीको मेयरमा कांग्रेसका रामशरण भण्डारीले गरे बाजासहित मनोनयन दर्ता

नौलो समाचार संवाददाता
२०७९ बैशाख १२, सोमबार मा प्रकाशित १००२ पटक पढिएको
पनौतीको मेयरमा कांग्रेसका रामशरण भण्डारीले गरे बाजासहित मनोनयन दर्ता

बैशाख १२, काभ्रे। काभ्रेका १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस सहितका गठबन्धन दलहरु, एमाले लगाएत स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन दर्ता प्रकिया सम्पन्न भएको छ।

जिल्लाका अन्य पालिकासंगै पनौतीको चुनावी माहोल तातिएको छ।

पनौती नगरपालिकाको प्रमुखका लागि कांग्रेस नेता रामशरण भण्डारीले मनोनयन दर्ता गराउनुभएको छ।

कांग्रेस गठबन्धन उम्मेदवारले बाजागाँजा सहित पनौती नगर परिक्रमा गर्दै मनोनयन दर्ता गराएका हुन्।

इमान्दारिता र समाज सेवामा अहोरात्र खटिने भण्डारीले आफ्नो बिजयले पनौतीको समृद्धिमा आफ्नो काम र योगदानाले अर्को कोशेढुंगा स्थापना गर्ने बताउनुहुन्छ।

मनोनयन दर्ता कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिबप्रसाद हुमागाईं सहित कांग्रेस नेता कार्यकर्ता लगायतका गठबन्धनका नेताहरुको बाक्लो सहभागिता रहेको थियो।

यस्तै, पनौतीको उप-प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादीबाट छवि हुमागाइले उम्मेदवारी गराउनुभएको छ।

नगर प्रमुख र उप प्रमुख सहित सबै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका छन्। उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय पनौतीमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

हिजो र आज गरि मनोनयन दर्ता गराएका दल र उम्मेदवारहरुको नामावली प्रकाशनको लागि काम भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पनौतीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस