पनौतीमा ९३ जना महिलाको उम्मेद्वारी, उप-प्रमुख पदमा २ जनाको दावी

नौलो समाचार संवाददाता
२०७९ बैशाख १५, बिहिबार मा प्रकाशित ५६६ पटक पढिएको
पनौतीमा ९३ जना महिलाको उम्मेद्वारी, उप-प्रमुख पदमा २ जनाको दावी

बैशाख १५, काभ्रे। यहि बैशाख ३० हुने स्थानीय तह चुनावका लागि पनौतीमा कुल ९३ जना महिलाले उम्मेद्वारी दर्ता गराएका छन्।

पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६८ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

पनौतीको उप-प्रमुख पदमा २ जना, वडा अध्यक्षका लागि १ जना, विभिन्न वडाका महिला सदस्य ४३ जना, दलित महिला सदस्य ४४ जना र खुल्ला महिला सदस्य ३ जना गरी जम्मा ९३ जना महिलाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालय पनौतीले जानकारी दिएको छ।

नेकपा एमालेबाट गीता बन्जारा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना घिमिरे श्रेष्ठले पनौतीको उप-प्रमुख पदका लागि उम्मेद्वारी दर्ता गराउनुभएको छ। नेकपा एमालेबाट गीता बन्जाराले यसअघि पनौतीको उप-प्रमुख पदमा रही कार्य गरिसक्नुभएको छ।

यस्तै, पनौती वडा नम्बर ४ को वडा अध्यक्षका लागि सुशिला सुवालले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ। उहाँ नेकपा माओवादी केन्द्रको उम्मेदवार हुनुहुन्छ।

पनौती नगरको मेयरको लागि ११ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

सोमबार सम्पन्न मनोनयनमा प्रमुख राजनीतिक दलमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) आ-आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने अन्य साना राजनीतिक दललगायत स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय पनौतीले जनाएको छ।

स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा दलहरु आफ्नो चुनावी एजेण्डा बोकेर घर दैलो कार्यक्रम शुरु गरेका छन्। काभ्रेका विभिन्न पालिकहरुमा विभिन्न सान ठुला दलहरु चुनावी प्रचारमा ब्यस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस