हामी भाषण गर्न जान्दैनौ, काम गरेर देखाउछौं: पनौती-९ का अध्यक्ष उम्मेदवार महत

नौलो समाचार संवाददाता
२०७९ बैशाख १९, सोमबार मा प्रकाशित १४७४ पटक पढिएको
हामी भाषण गर्न जान्दैनौ, काम गरेर देखाउछौं: पनौती-९ का अध्यक्ष उम्मेदवार महत

बैशाख १९, काभ्रे। नेपाल सुशासन पार्टीले पनौतीमा चुनाबी कार्यक्रमलाई तिब्रता दिएको छ। नेपाली कांग्रेसको पकड क्षेत्र मानिने पनौती वडा नम्बर ९ मा पुर्व डीआईजी रमेशप्रसाद खरेलको पार्टी नेपाल सुशासनले प्रवेश गरेको छ।

वडा नम्बर ९ शिकारीगाउँ डेरी चोकमा नेपाल सुशासन पार्टी वडा कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल सुशासन पार्टी केन्द्रीय अध्यक्ष रमेशप्रसाद खरेलले आफुहरु चिल्ला भाषण भन्दा पनि जनताको हितमा काम गर्न हिडेको बताउनुभयो। ‘भाषण र चिल्ला कुरा गर्नेहरुले जनताको हितमा काम गर्न सकेनन्, हामी बोल्न जान्दैनौ तर काम गरेर देखाउछौं’ अध्यक्ष खरेलले भन्नुभयो।

विगतका वर्षौदेखि वडा देखि नै भ्रष्टाचार, बेथिति र कुशासन हावी भैरहेकोले त्यसलाई चिर्न र सुशासन आफुहरु जागरुक भएर आएको बताउनुभयो। जनातालाई झुक्याउनेहरु नेता नभई ठग भएको बताउदै उहाँले अब युवाहरुलाई नेतृत्व हस्तान्तरण नहुदासम्म आफु लडिरहने बताउनुभयो।

यस्तै, ९ नम्बरका वडा अध्यक्षका उम्मेदवार रामकुमार महतले समग्र पनौती नगर र आफ्नो वडामा बिकास निर्माणका काममा अनियमितता, युवा लक्षित कार्यक्रममा सधै बेवास्ता, वडाका जनतालाइ आफ्नै मुठ्ठीका मान्छे ठानेर बिकास निर्माणका काममा पक्षपात भैरहेको बताउनुभयो। यहि कुशासनको बिरुद्ध आफु चुनावमा होमिएको र अमुल्य मत प्रदान गरी ९ नम्बर वडामा सुशासन ल्याउन जनसमुदायमा आग्रह गर्नुभयो।

आफुलाई भाषण गर्न र मिठो कुरा गर्न नआउने तर जनताले खोजेको जस्तो काम गर्ने उम्मेदवार महतले बताउनुभयो।

नेपाल सुशासन पार्टीको तर्फबाट पनौतीको मेयरमा भरत आचार्यले उम्मेवारी सहित चुनावी अभियानमा लागिरहनुभएको छ। आफुहरु पक्षमा जनताले साथ दिने र पनौती र वडा नम्बर ९ को मुहार फेर्न सबैले साथ दिने उहाँले बताउनुभयो। सधै एउटै व्यक्ति र पार्टीलाइ भोट दिदा भित्र भित्रै भ्रष्टाचार बढ्ने र बाटोघाटो र बिकाशको काम नहुने भन्दै अब युवाहरुलाई भोट दिएर हेर्न सबैलाई आग्रह गर्नुभयो।

वडाको टिममा अध्यक्ष रामकुमार महतसहित सदस्यहरु बिदुर थापा, दिनेश तिमल्सिना, गीता कामी रहनुभएको छ।

वडा नम्बर ९ को अध्यक्षमा ४ जनाको उम्मेवारी परेको छ। यसअघिका वडा अध्यक्ष नेपाली कांग्रेसको तर्फबाट सहकुलकुमार हुमागाईं फेरी उम्मेदवार रहनुभएको छ। यस्तै, नेपाल सुशासन पार्टीबाट रामकुमार महत, नेकपा एमालेबाट उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नरेशबहादुर खड्का उम्मेद्वार रहनुभएको छ।

कार्यक्रममा उम्मेदवारहरुले आफ्नो कार्यक्रम एजेन्डा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नेपाल सुशासन पार्टी केन्द्रीय अध्यक्ष रमेशप्रसाद खरेलसहितको प्रतिनिधि, स्थानीय युवाहरु, समाजसेवी र स्थानीय जनताहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस