धुलिखेलको मत गणना फेरि अबरुद्ध

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित १२८६ पटक पढिएको
धुलिखेलको मत गणना फेरि अबरुद्ध

जेठ ५, काभ्रे। धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ। वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका हुन्।

यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले मत गणना रोकिएको थियो।

मतगणनासम्बन्धी निर्देशिकामा मतपत्र १ देखि ५ सम्म एक पदमा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत गरेको भए उम्मेदवार भएको वा नभएको भए बदर गर्ने व्यवस्था छ।

तर धुलिखेलमा एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो। सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ। तर वडा नम्बर ९ को गणनाका क्रममा एमाले सहमतिबाट पछि हट्यो र निर्देशिकाअनुसार नै मत गणना हुनुपर्ने अडान लियो।

अरु दल त्यसमा सहमत भएपछि धुलिखेलको मत गणना दुई दिनसम्म रोकिएको थियो। स्थानीय स्तरमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यालयले निवार्चन आयोगको राय माग्यो, जसमा गणना भइसकेको हकमा केही नगर्ने, तर नयाँ गणना निर्देशिकाअनुसार नै गर्न निर्देशन दिएको छ।

त्यसअनुसार आज (बिहीबार) दिउँसो मात्र मत गणना सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस