चुनावी प्रतिवद्धता पुरा गर्न इमान्दारीताका साथ लाग्छौं, अर्को निर्वाचनमा सबै वडा जित्ने गरि काम गर्छौ : कांग्रेस पनौती

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित ६२९ पटक पढिएको
चुनावी प्रतिवद्धता पुरा गर्न इमान्दारीताका साथ लाग्छौं, अर्को निर्वाचनमा सबै वडा जित्ने गरि काम गर्छौ : कांग्रेस पनौती

जेठ ६, काभ्रे। पनौती नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भए संगै कांग्रेससहितको गठबन्धनले विजय जुलुस निकालेको छ।

समग्र पनौती क्षेत्रका जनता तथा मतदातालाई धन्यवाद ज्ञापन गर्दै  उम्मेदवार, नेता तथा कार्यकर्तासहितको विजय जुलुसले विभिन्न वडा हुदै नगर परिक्रमा गरेको थियो।

पनौती नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भएसंगै नेकपा एमालेको गढ भत्किएको छ। हालै सम्पन्न निर्वाचनमा २ हजार २ सय ६७ मतान्तरले एमाले नेता भिम न्यौपानेलाई काग्रेस नेता भण्डारीले पराजित गर्नुभएको हो।

निर्वाचनमा भण्डारीको १४ हजार ५० मत आएको थियो भने न्यौपानेको ११ हजार ७ सय ८३ मत आएको थियो।
२०५३ सालमा स्थापना भएको यो नगरमा अहिले सम्म कम्युनिष्टहरुले मात्र मुल नेतृत्व सम्हाल्नुभएको थियो। उपप्रमुखमा भने एमालेबाट उम्मेदवार गिता बञ्जाराले जित्नुभएको छ।

पनौती काग्रेसका चुनावी कमाण्डर भोला थापाका अनुसार पनौतीमा प्रमुख उपप्रमुख सहित वहुमत वडामा नेपाली काग्रेसले जित्ने अनुमान भएपनि प्रमुख सहित चारवटा वडा मात्र जित्न सफल भएको बताउनुहुन्छ। अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि सबैभन्दा ठुलो सफतला भनेको मुल नेतृत्व ल्याएको भन्दै उहाले आगामी निर्वाचनमा पनौतीमा सबै वडा जित्ने गरि काग्रेस नेतृत्वले पनौती नगर हाक्ने बताउनु भएको छ।

नगरप्रमुखमा विजयी भण्डारीले पनौती नगरमा भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्ने र चुनाव अघि संकल्प गरिएको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको सुधारका साथै खानेपानी समस्या समाधान गर्न आफ्नो टीम इमान्दारीताका साथ लाग्ने बताउनु भएको छ। साथै, बसपार्क व्यवस्थापन, त्रिवेणीघाट व्यवस्थापन, सिचाई सुविधाको उपलब्धतालाई पनि प्राथमिकतामा राखिने उहाँ बताउनुहुन्छ।

काग्रेसले प्रमुख सहित वडा नम्बर १, ५, ९ र १० गते चारवटा वडा जितेको छ। एमालेले उपप्रमुख सहित वडा नम्बर २, ३, ४, ६, ७, ८ र ११ गरि सातवटा वडा जितेको छ। वडा नम्बर १२ भने एकिकृत समाजवादीले जितेको छ।

पनौती नगरमा एमाले गढ भत्काउन निर्वाचनको तीन महिना पहिलेदेखि नै तयारीमा जुटेको कांग्रेस पनौती पाँचलदीय गठबन्धनको किचलोले पछिल्लो एक महिना जस्तो निस्कृय भएको थियो। सत्तारुढ दलवीच देशभर गठबन्धन गर्ने/नगर्ने वहसको अन्तिम समयसम्म निष्कर्ष ननिस्कदा समयमै उम्मेद्वार छनौट गर्ने प्रक्रिया समेत प्रभावित भएको थियो। अन्ततः पनौतीमा माथिल्लो निर्णय अनुसार प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरेपनि वडा तहमा पाँचदलिय गठबन्धन हुन सकेन।


प्रतिक्रिया दिनुहोस