तारा एयरको जहाज अझै अज्ञात, हराइरहेको जहाजमा एकै परिवारका सात जना

गोरखाका एकै परिवारका ४ जना 
नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित ५९७ पटक पढिएको
तारा एयरको जहाज अझै अज्ञात, हराइरहेको जहाजमा एकै परिवारका सात जना

जेठ १५, पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ।

उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका ७ जना रहेको पुष्टि भएको छ।

विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।

गोरखाका एकै परिवारका ४ जना 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका ४ जना सदस्य सवार रहेका छन्।

जहाज बेपत्ता भएको खबरसँगै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्।

सो विमानमा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मि श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठ थिए। अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमण गएको परिवार स्रोतले जनाएको छ।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।


प्रतिक्रिया दिनुहोस