हिजोदेखि हराइरहेको जहाज यस्तो अवस्थामा फेला पर्‍यो

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १६, सोमबार मा प्रकाशित ६३४ पटक पढिएको
हिजोदेखि हराइरहेको जहाज यस्तो अवस्थामा फेला पर्‍यो
तस्बिर: नेपाली सेना

जेठ १६, मुस्ताङ। आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो।

‘शनिश्चरे’ भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको सैनिक प्रवक्ता सिलवालले बताउनुभएको छ।

सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज देखेका छन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।

हिजो बिहानदेखि हराइरहेको जहाजको खोजी भइरहेको तारा एअरले जनाएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो।

हराइरहेको जहाज खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर फेरि जोमसोम फर्किएको थियो ।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।


प्रतिक्रिया दिनुहोस