५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि ‘फाइजर’ खोप दिईने

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार मा प्रकाशित १५७ पटक पढिएको
५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि ‘फाइजर’ खोप दिईने

जेठ २०, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराउनुभएको छ। आज शुक्रवार भिडियोमार्फत उहाँले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो।

पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ। यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ। अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उहाँले अनुरोध गर्नुभएको छ।

उहाँले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताउनुभयो । ‘खोप खरिद प्रक्रियामा रहेको थियो। यसको मूल्य ६ अर्ब रुपैयाँभन्दा माथि रहेको थियो। तर मन्त्रालयले निरन्तर प्रयासमार्फत कोभ्याक्स सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो’, उहाँले भन्नुभयो।

केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र पालिकामा खोप वितरण गरिने छ। नेपालमा अहिलेसम्म ५ करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ। बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुस्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो। सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस