पनौती नगरमा उपभोक्ता समितिको अनियमितता, १० लाखको बजेटमा १५ लाख भ्रष्टाचार

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २४, मंगलबार मा प्रकाशित ४१९६ पटक पढिएको
पनौती नगरमा उपभोक्ता समितिको अनियमितता, १० लाखको बजेटमा १५ लाख भ्रष्टाचार

जेठ २४, काभ्रे। सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर। अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर कल्पना पनि गर्न सकिदैन। सडक निर्माण जस्तो सार्वजनीक कार्य गर्ने उपभोक्ता समितिले हाम्रो कारणले त्यो जग्गामा सडक पुर्याएको भन्दै सम्बन्धित जग्गा धनीसंग लाखौ रुपैया लिएको कुरा अझ अचम्म लाग्न सक्छ।

पनौती-९ सुन्थानस्थित ‘भिमसेनस्थान प्रगति मार्ग मोटरबाटो निर्माण उपभोक्ता समिति’ले यस्तै नपत्याउने काम गरेको रहस्य खुलेको छ। नगरपालिकाबाट फरफार गरि रकम भुत्तानी लिएपछि स्थानीय बासिहरुले गरेको अनुसन्धानमा चरम अनियमितता गरेको पाइएको छ।

उपभोक्ता समिति मार्फत सम्पन्न योजनामा पत्याउनै नसकिने अनियमितता तथा भ्रष्टाचार भएपछि नगरपालिकाले छानविन गरि यथार्थ पत्ता लगाउन माग गरिएको छ।

पनौती नगरपालिका वडा नम्बर-९ स्थिति मिजार टोलबाट दशरथ भण्डारीको बारीमा जाने मोटरबाटो निर्माणमा उपभोक्ता समितिले सम्बन्धित जग्गा धनीसंग ५ लाख लिएको स्थानियबासि रामचन्द्र रम्तेलले बताउनुभएको छ।

नगरपालिकाको १० लाख रुपैया स्थानिय उपभोक्ताहरुको २० प्रतिशत सहयोगमा उपभोक्ता समितिमार्फत कार्य गरिएको यो मोटरबाटो निर्माण योजनाको यहि जेठ १९ गते नगरपालिकाबाट हिसाब मिलान गरिएको छ। जसमा सिमेन्ट २ सय ७० बोरा लागेको विल पेश गरिएको छ। जबकी खासमा १ सय ४० बोरा सिमेन्ट भन्दा बढी ल्याइएको छैन। जेसिभि ९० घण्टा लगाइए पनि १ सय ५० घण्टाको विल पेश गरिएको छ। यसमा प्राविधिकहरुले अति गर्न नहुने सुझाव दिएपछि २० घण्टा बढाएर १ सय १० घण्टाको मात्र भुक्तानि लिइएको छ। सडकमा ग्राभेल १७ टिप हाले पनि ४५ टिपको विल पेश गरेर भुक्तानि लिइएको छ।

यो योजनाको शुरुदेखि अनुगमन गरिरहेका स्थानीयबासी रामचन्द्र रम्तेलका अनुसार ढुंगा ६ टिप हाले पनि १२ टिपको रकम लिइएको छ। १० हजार भाडामा मिक्स्चर पाइने भएपनि ३५ हजार रुपैया भुक्तानी दिएको भरपाई पेश गरिएको छ। यसमा अचम्म के छ भने स्थानीय राजु विसुंखेले मिक्स्चर धनी भनि ३५ हजार बुझेका छन्। स्थानीय सबैलाई थाहा छ की मिक्स्चर धनी विसुंखेको यो भरपाई नक्कली हो। किनकी विसुंखे मिक्स्चर धनी होइनन्।

यो बाटोले दशरथ भण्डारीको ज्वाई नाता पर्ने एक व्यक्तिको ७ रोपनी जग्गा छोएको छ। उपभोक्ता समितिले यो ७ रोपनीको जग्गा धनीसंग बाटो लगेर जग्गाको भाउ बढाइदिएको भन्दै ५ लाख रुपैया लिएका छन्। उनले पाँचलाख रुपैया दिएको सार्वजनीक गरेको स्थानीयबासी रम्तेल बताउनु्हुन्छ।

उपभोक्ता समितिमा सात जना रहेका छन्। जसमा अध्यक्ष दिलिप रम्तेल र कोषाध्यक्ष धनराज सुर्खेती छन्। सचिव मार्था मंग्रान्ती र अन्य सदस्यहरुको सबै निर्णयमा नक्कली हस्ताक्षर गरिएको भन्दै छानविन गर्न माग गरिएको छ। अध्यक्ष दिलिप रम्तेल अनुग्रह विश्वास उद्धार सामुदायीक मण्डलीका पास्टर समेत हुन्। उपभोक्ता समिति मार्फत गरिएको यो कार्यमा अनियमितता गरेको भन्दै चर्जमा आउने विश्वासिहरुलाई समेत धोका दिएको बताइएको छ। दैनिक हाजिरामा समेत नक्कली नाम र हस्ताक्षर राखिएको छ।

अनुगमन समितिको संयोजक जुरेली मिजारलाई काम शुरु भएको र सम्पन्न भएको केहि थाहा छैन। निर्णयमा अनुगमन समितिको संयोजकको नक्कली हस्ताक्षर गरिएको बताइएको छ। सबै काम ठिक छ भनी हस्ताक्षर गरेको बारे जिज्ञासा राख्दा जुरेलीले आफुलाई केहि थाहा नभएको र हस्ताक्षर पनि नगरेको बताउनुभएको छ।

यो उपभोक्ता समितिको आयोजनामा वैशाख ५ गते भएको सार्वजनीक लेखा परिक्षणको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सहकुल हुमागाईको उपस्थिति रहेको भनिएपनि यो निर्णयमा उहाँको हस्ताक्षर देखिदैन। यो कार्यक्रममा रहेका उपस्थितहरुको नाममा गरिएको प्राय: सबै हस्ताक्षर नक्कली भएको बताइएको छ।

समाचार प्रकाशन पुर्व उपस्थित केहिलाई टेलिफोन गरि सोध्दा आफुहरुलाई केहि थाहा नभएको र हस्ताक्षर पनि नगरेको बताएका थिए।

संकलित कागजात:

प्रतिक्रिया दिनुहोस