काभ्रेमा जिल्ला समन्वय समितिको निर्वाचन असार १ गते हुने

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २४, मंगलबार मा प्रकाशित ८९२ पटक पढिएको
काभ्रेमा जिल्ला समन्वय समितिको निर्वाचन असार १ गते हुने

जेठ २४, काभ्रे। काभ्रे। जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार १ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरि जानकारी दिए अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ २९ गते तोकिएको हो।

जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख र तीन महिला सहित ९ सदस्यको निर्वाचन हुन्छ। मतदाताको रुपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष रहन्छन। काभ्रेमा १३ स्थानीय तह भएकोले जिल्ला समन्वय समितिको मतदाता २६ जना रहने छन्।

काभ्रे काग्रेसका उपसभापति रमेश हुमागाईले जानकारी दिए अनुसार जिल्ला समन्वय समिति निर्वाचनमा काग्रेस एक्लैको १३ मत रहेको छ भने माओवादी केन्द्रको ८ मत रहेको छ। एमालेको ४ र एकिकृत समाजवादीको एक मत रहेको छ। एमालेले धुलिखेल नगरपालिकामा प्रमुख र पनौती, बनेपा र पाचखालमा उपप्रमुख जितेको छ। एकिकृत समाजवादीले भने मण्डनदेउपुर नगरपालिकामा प्रमुख मात्र जितेको छ।

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्यबाट उमेद्वार बन्न पाउने भए पनि कार्यकारी पदमा रहेकाहरुले उमेद्वारी दिने गरेको पाइदैन। पालिका प्रमुख उपप्रमुख र वडा अध्यक्ष बाहेक वडा सदस्यहरु अध्यक्षबाट जिल्ला समन्वय समितिमा उमेद्वारी आउने गर्छ। जिल्ला समन्वय समितिको निर्वाचनको रमाइलो कुरा के छ भने पालिका प्रमुख तथा उपप्रमुख उम्मेदवार भएनन भने उम्मेदवार स्वयंले मतदान गर्न पाउदैन।


प्रतिक्रिया दिनुहोस