पनौती जात्रा ‘ज्या: पुन्ही’ को तयारी तिब्र, के-के हुदैछ तयारी?

के हो पनौती जात्रा ?
नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २६, बिहिबार मा प्रकाशित ११११ पटक पढिएको
पनौती जात्रा ‘ज्या: पुन्ही’ को तयारी तिब्र, के-के हुदैछ तयारी?

जेठ २६, काभ्रे। ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) को तयारी तिब्र रुपमा भैरहेको छ।

कोरोना भाइरसको महामारीका कारण विगतका २ वर्ष पनौती जात्रा स्थगित गरिएको थियो।

पनौती जात्रालाई ज्या: पुन्ही, हिले जात्रा र घुम जात्राका नामले समेत चिनिन्छ।

‘‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यो जात्रा जेठ शुक्ल पूर्णिका अवसरमा ३ दिनसम्म मनाउने गरिन्छ। जात्रामा काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने गर्दछ।

‘ज्येष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले  कहिल्यै सुख पाउँदैन’ भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको छ। स्थानीयवासीले त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँदै आएका थिए। जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने चलन रहँदै आएको छ। जात्रा सकेर खेतमा रोपाईं शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिएको हो।

पनौती वडा नम्बर ७ को डबली क्षेत्रमा मनाईने जात्राको तयारी तिब्र रुपमा भैरहेको वडा अध्यक्ष सबिन ताम्राकारले बताउनुभयो। रथ निर्माण, सरसफाई, फुटपाथ पसल व्यवस्थापन, बिजुली, रमाईलो मेला लगायतका कामहरु धमाधम भैरहेको पनि जानकारी दिनुभयो।

घुम जात्राले पनि चिनिएको पनौती जात्रामा रंगिन छाताहरु राखेर (अम्ब्रेला स्ट्रिट) बनाईएको बारेमा उहाँले जात्रा लाग्ने ठाँउमा छाताहरु नराखिएको बताउनुभयो। खोपासी र इन्द्रेश्वर क्याम्पस जाने चोकबाट केहि भित्र मात्र त्यहिँका स्थानीयहरूको सक्रियतामा राखिएको र वडा कार्यलयलाई कुनै पनि जानकारी र छलफल नगरिएको बताउनुभयो।

यसैविच, स्थानीय जानकार तथा हाली नेवा गुठीका महासचिव सुरेश सैंजुले घुम जात्रामा रंगिन छाताहरु राखेर (अम्ब्रेला स्ट्रिट) बनाईनु गलत भएको बताउनुहुन्छ। संस्कृति मास्ने काम गर्न नहुने बताउदै उहाँले त्रिबेणी घाटको फल्चा पाटीको ऐतिहासिकता मेटिने गरी भएको निर्माण कार्य गलत भएको र तुरुन्त नगर तथा वडा कार्यालयले कदम चलिहनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो।

के हो पनौती जात्रा ?

यहाँको जनविश्वासअनुसार जात्रा अविधिभर र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ। प्रत्येक वर्ष यस्तै हुँदै आएको अनुभव पनि यहाँका बासिन्दासँग छ । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिँदै आएको बताइन्छ ।

साथै जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन रथको भागदौडसँगै ‘यौन क्रियाकलाप’मा रुमलाउँदै एकापसमा जुधाउने काम हुन्थ्यो । किंवदन्तीअनुसार भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्थ्यो । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ ।

रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्दथे । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको स्थानीय युवा सौगात बस्नेतले बताउनुभयो । उहाँका अनुसार कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले यसअघि जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आएको छ ।

राजा प्रताप मल्लले ई.सं. १६६५ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस