बेथानचोकमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३ सय ११ जनाले पाए स्वास्थ्यसेवा

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार मा प्रकाशित ६१२ पटक पढिएको
बेथानचोकमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३ सय ११ जनाले पाए स्वास्थ्यसेवा

जेठ ३०, काभ्रे। बेथानचोक गाउँपालिकाको ढुङखर्कमा बृहत निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा र बेथानचोक गाउँपालिकाको समन्वयमा ढुङखर्कमा शिविर सम्पन्न भएको हो।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ३ सय ११ जनाले आयुर्वेद चिकित्सा सेवा तथा नि:शुल्क आयुर्वेद सेवा पाएका छन्। शिविरमा १ सय ४० जनालाई आयुर्वेद औषधि वितरण गरिएको थियो। १ सय ५ जनाले प्याथोलोजी ल्यावको सेवाबाट रगत र पिसावको जांच गरिएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन समारोह जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सन्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष प्रकाशबहादुर कायस्थको अध्यक्षतामा भएको थियो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. मनोजकुमार चौधरीले आयुर्वेद सेवाको बारे जानकारी गराउदै ‘मेरो स्वास्थ्य मेरो अभियान तथा नागरिक आरोग्य कार्यक्रम’लाई गाउँपालिकाको सहकार्यमा समुदाय स्तरमा संचालन गरिएको बताउनुभयो। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेद सेवा संचालन गराइ निरोगी नेपाल अभियानलाई सेवा केन्द्र मार्फत पालिका भरी बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै बेथानचोक गाउँ पालिका जडिबुटीको हब भएकोले आयुर्वेदलाई उत्पादन सित जोड्न पहल कदमी गर्ने बताउनुभयो।

शिविरमा बेथानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिना, स्वास्थ्यकर्मिहरु, राष्ट्रिय सामुदायिक महिला स्वयंसेवकाहरु, आयुर्वेद औषधालयका प्रमुखहरू, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीहरु, नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरु, जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, ललितपुरका वैद्य योग प्रशिक्षक जानुका ढुंगाना लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सन्चालन लेखा प्रमुख कृष्णप्रसाद पराजुलीले गर्नु भएको थियो भने स्वागत मन्तव्य कविराज निरीक्षक रमेशप्रसाद पनेरुले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस