बागमती प्रदेशको कृषि मुखी बजेट तर काभ्रेलाई उपेक्षा, छैन नौला र ठूला योजना

नौलो समाचार संवाददाता
२०७९ अषाढ २, बिहिबार मा प्रकाशित ६९३ पटक पढिएको
बागमती प्रदेशको कृषि मुखी बजेट तर काभ्रेलाई उपेक्षा, छैन नौला र ठूला योजना

असार २, काभ्रे। बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो।

बजेटले काभ्रेका लागि भने निराशाजनक परिणाम ल्याएको छ। बजेटमा काभ्रेका कुनै नौला र ठूला योजना बजेटमा समावेश गरिएको छैन।

काभ्रेका विभिन्न पालिकाहरुले विभिन्न योजना सहित बागमती प्रदेश सरकारसंग बजेट माग गरेका थिए। आफ्ना पालिकाकोलागि बजेट माग गरिए पनि प्रस्ताव गरिएका प्राय: योजनाका लागि बजेट छुट्याइएको छैन।

बजेटमा काभ्रेसहित चितवन, मकवानपुर, धादिङ बिउ पकेट उत्पादनको क्षेत्र स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ। छुट्याइएको यो बजेट पनि ४ वटा जिल्लाको लागि भएकोले बजेट पर्याप्त छैन।

बजेटमा प्रदेशभर दुध उत्पादन प्रबर्द्धन गर्ने कार्यक्रमको लागि ३० करोड बिनियोजन गरिएको छ।

काभ्रेमा मिनी पाउडर प्लान्ट स्थापना गर्ने बजेटमा उल्लेख छ, तर त्यसका लागि कति बजेट छुट्याइएको उल्लेख छैन। दूग्ध उत्पादनमा काभ्रे जिल्लाले ठुलो स्थान ओगटेको छ।

बजेटमा काभ्रेको मण्डनदेउपुरका शितभण्डारसहितको कृषि बजार स्थापना गर्ने उल्लेख भए पनि बजेट कति छुट्याइएको उल्लेख छैन।

यस्तै काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप र दोलखालाई लक्षित गर्दै काभ्रेमा एम्बुलेन्स डिस्प्याच सेन्टर बनाउने उल्लेख भए पनि बजेट उल्लेख गरिएको छैन।

बजेटमा प्रदेश राजधानी रहेको मकवानपुरसहित चितवन, धादिङ लगायतमा धेरै बजेट बिनियोजन गरिएको देखिन्छ।

प्रांगारिक मल र गड्देउला मलको प्रयोगलाई प्रोत्साहन गर्न प्रदेशभर ५ करोड ७५ लाख बिनियोजन गरिएको छ।

बजेटमा स्थानीय तहमा हस्तान्तरण हुने समानीकरण, शसर्त र विशेष अनुदानमा वृद्धि गरिएको छ भने आन्तरिक आय कम भएका स्थानीय तहलाई शसर्त र विशेष अनुदानमा विशेष प्राथमिकता दीइएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस