दुई पाङ्ग्रे सवारीको तिर्न बाँकी करमा जरिवाना नलाग्ने

नौलो समाचार संवाददाता
२०७९ अषाढ ३, शुक्रबार मा प्रकाशित ९९० पटक पढिएको
दुई पाङ्ग्रे सवारीको तिर्न बाँकी करमा जरिवाना नलाग्ने

असार ३, काठमाडौँ। बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुईपांग्रे सवारी साधनको करमा लागेको जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ। बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो जरिवाना छुट दिने घोषणा गरेको हो।

नेपाल अटोमोबाइल रिकन्डसन व्यवसायी संघ (नारा)को मागअनुसार प्रदेश सरकारले कर नीतिमा सहजीकरण गर्दै हालसम्म प्रदेश यातायात कार्यालयमा दाखिला हुन नसकेको नवीकरण शुल्कको अविलम्ब शुल्क (जरिवाना) पूर्णरुपमा छुट दिने घोषणा गरेको हो ।

२०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७९ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने घोषणा गरेको छ।

प्रदेश अर्थ तथा योजनामन्त्री शालिकराम जर्मकट्टेलले सार्वजनिक गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२८ मा सो बारे उल्ले गर्दै प्रदेश सरकारले भनेको छ, ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवम् अन्य दुई पाङ्ग्रे सवारी साधनको सवारी साधन कर संवत् २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।’

आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म बक्यौला कर दाखिला गरेमा सवारी धनीले पूर्णरुपमा जरिवाना छुट पाउने प्रदेश सरकारले बताएको छ।

सबैभन्दा बढी सवारीसाधन दर्ता भएको प्रदेश भएको कारणपनि लामो समयदेखि दुई पाँग्रे सवारी कर नतिरी सवारी चलाएको भन्दै धेरै सवारी कारवाहीमा पर्ने गरेका छन।

त्यसैगरी बजेटले बाहिर दर्ता भई बागमती प्रदेश भित्र सञ्चालित सवारी साधनको अभिलेख र कागजात प्रदेशअन्तर्गत स्थानान्तरण गर्न प्रक्रियालाई सरलीकृत समेत गर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस