पेट्रोल लिटरमा २१ र डिजेल-मट्टीतेलको मुल्य २७ रूपैयाँले बढ्यो

नौलो समाचार संवाददाता
२०७९ अषाढ ६, सोमबार मा प्रकाशित ६८२ पटक पढिएको

पेट्रोल लिटरमा २१ र डिजेल-मट्टीतेलको मुल्य २७ रूपैयाँले बढ्यो

असार ६, काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत, १ हजार ८ सय रूपैयाँ नै छ।

हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।

यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको बताएको छ।

आइओसीले असार २ गते पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रूपैयाँ र डिजेल १९.०३ रूपैयाँ बढेको छ। योसँगै आफ्नो खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२.५८ रूपैयाँ र डिजेलको २०५.९५ रूपैयाँ पुगेको निगमले जनाएको छ। हवाइ इन्धनमा पनि आइओसीले लिटरको १९.९१ रूपैयाँ बढाएर पठाएको छ।

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ।

यो मूल्यअनुसार समायोजन नगरी बेच्दा १५ दिनमा चार अर्ब ८१ करोड घाटा भएको भन्दै आइतबार मध्यरातमा निगमले भाउ बढाएको हो।

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ।


प्रतिक्रिया दिनुहोस