बेथानचोकमा बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया, दिगो बिकासलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड

नौलो समाचार संवाददाता
२०७९ अषाढ ६, सोमबार मा प्रकाशित ८१४ पटक पढिएको

बेथानचोकमा बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया, दिगो बिकासलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड

असार ६, काभ्रे। बेथानचोक गाँउपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार गाँउपालिकाको नीति, कार्यक्रम तथा बजेट बनाउन राय सुझाव संकलन गर्न अन्तरक्रिया गरिएको हो।

अन्तरक्रिया कार्यक्रम सहभागीहरुले बेथानचोक गाँउपालिकालाई नमुना गाँउपालिका बनाउन दिगो बिकासलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्। दीर्घकालीन योजनाहरुलाई प्राथमिकता दिनुपर्ने उनीहरुको भनाई छ।

बेथानचोक गाँउपालिकाका ६ वटा वडा मध्ये लगभग सबै वडाको योजना छनौटका कार्य सकिएका छन्।

कार्यक्रममा बोल्दै बेथानचोक गाँउपालिका अध्यक्ष भगवान अधिकारीले प्रत्येक वर्ष बेथानचोकका विभिन्न सडकहरू पाँच किलोमिटरका दरले कालोपत्रे गर्ने, ६० वर्ष माथिका जेष्ठ नागरिकको होल बडी परिक्षण गर्ने, विद्यार्थी छात्रवृत्ति लगायतका कार्यक्रमहरु मुख्य रुपमा रहेको बताउनुभयो। उहाँले विकास निर्माणका कार्यलाई दीर्घकालीन रुपमा लैजाने बताउदै सडक खन्ने मात्र भन्दा पनि बनाईएका सडकलाइ दीर्घकालीन बनाउने पालिकाको उद्देश्य रहेको बताउनुभयो।

वडास्तरदेखि पालिकासम्मका विभिन्न दलका प्रतिनिधि, विज्ञहरुको सहभागितामा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि पशुपालनमा दीर्घकालीन योजना बनाउने पालिकाको नीति रहेको पालिका अध्यक्ष अधिकारीको भनाई छ।

यस्तै, वडा नम्बर ६ र १२ का सडकहरु नियमित सुचारु गर्न कार्यक्रमहरु तर्जुमा गर्ने पनि योजना रहेको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले चुनावमा गरेका प्रतिबद्धता पुरा गर्ने र सोहि अनुसार योजना हाल्ने बताउनुभयो। योजनाहरु  छनौटका लागि सुझाव सहित सबैको सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले दीर्घकालीन योजना छनौट गर्दै बढी भन्दा बढी ग्रामिण भेगका जनताका लागि पनि योजनाहरु ल्याईनुपर्ने उल्लेख गर्नुभयो।

त्यस्तै, निवर्तमान पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, निवर्तमान उपाअध्यक्ष सरिता लामिछाने, नेकपा एमालेका नेता कमल तिमल्सिना, बेदप्रसाद तिमल्सिना, माओवादी केन्द्र बेथानचोकका नेता मर्दनसिं तामाङ पेमा, नेकपा एकीकृत समाजवादीका नेता प्रेम तामाङ लगायतका नेता तथा विभिन्न क्षेत्रका विज्ञहरु, बेथानचोक गाँउपालिका भित्रका स्थानीय, सम्बन्धित सरोकारवाला, संघसस्था प्रतिनिधि, बुद्धिजीवीहरुको सहभागिता सुझाव संकलन तथा अन्तरक्रिया गरिएको हो।

सबैको राय सुझाव तथा योजनाहरु समेटेर सबैको साझा नीति तथा कार्यक्रम ल्याईने बेथानचोक गाँउपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो।

पालिकाका योजना शाखाका प्रमुख विश्वनाथ दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस