इन्द्रेश्वर क्याम्पसले पनौती नगर प्रमुखलाई बुझायो सर्भेक्षण प्रतिवेदन, पनौतीमै उच्च शिक्षा पढ्ने अधिकाशं विद्यार्थीको ईच्छा 

नौलो समाचार संवाददाता
२०७९ अषाढ १३, सोमबार मा प्रकाशित ७८८ पटक पढिएको
इन्द्रेश्वर क्याम्पसले पनौती नगर प्रमुखलाई बुझायो सर्भेक्षण प्रतिवेदन, पनौतीमै उच्च शिक्षा पढ्ने अधिकाशं विद्यार्थीको ईच्छा 

असार १३, काभ्रे। पनौती नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न नीति, रणनीति एवं वजेट सहितको क्रियाकलप अघि बढाउनुका साथै समय अनुसार नयाँ-नयाँ विषयको अध्ययन अध्यापन गराउनु पर्ने देखिएको छ।

पनौती नगरपालिका र इन्द्रेश्वर क्याम्पसले हालै गरेको एक सर्भेक्षणले ८० प्रतिशत विद्यार्थीले स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्न चाहेको देखिएको छ। सर्भेक्षणका संयोजक एवं इन्द्रेश्वर क्याम्पसका सहायक प्रमुख जयराम कर्मचार्यका अनुसार मुख्य गरी नयाँ नयाँ विषयको अध्ययन नहुने भएको कारणले पनि नगरकाविद्यार्थीहरु उच्च शिक्षाको लागि नगरबाट बाहिरिने गरेको पाइएको छ।

पनौती नगर भित्र रहेको इन्द्रेश्वर, तेजगंगा र कुशादेवी तीन क्याम्पस मध्ये इन्द्रेश्वर र तेजगंगामा मात्र स्नाकोत्तरसम्मको अध्ययन हुन्छ। यी दुई क्याम्पसको स्नाकोत्तर तहमा पनि शिक्षा र व्यवस्थापन संकायमा मात्र अध्यापन हुन्छ। स्नातक तहमा विज्ञान विषय छैन। पनौती नगरमा उच्च शिक्षा अध्ययन गर्न चाहने ६० प्रतिशत भन्दा बढी परिवारको आम्दानीको स्रोत कृषि रहेको पाइएकोले ती परिवारको आम्दानीको स्रोत बढाउन नगरले व्यवसायीक र आधुनिक कृषिमा ध्यान पुर्याउनुका साथै छात्रवृत्तिमा समेत चसो राख्नुपर्ने देखिएको छ।

सर्भेक्षणका संयोजक कर्माचार्यका अनुसार गुणस्तरीय शिक्षा, रोजगारी, अभिभावकको शिक्षा, क्याम्पसको शुल्क, शैक्षिक संरचना, छात्रवृत्ति आदिलाई आधार मानेर विद्यार्थीहरुले उच्च शिक्षाको लागी क्याम्पस छनौट गरेको पाइएको छ। सर्भेक्षणले पनौतीमा भौतिक पुर्वाधार सन्तोषजनक पाइएको देखाएको छ। पनौतीमा इन्द्रेश्वर क्याम्पस समुदायमा आधारित सामुदायीक सहभागिताको पहिलो क्याम्पस भएकोले सामाजिक उत्तरदायित्वको सम्झेर सर्भेक्षण गरिएको संयोजक कर्माचार्य बताउनुहुन्छ।

सर्भेक्षणबाट प्राप्त नतिजा सहितको प्रतिवेदन आज (सोमबार) नगरप्रमुख रामशरण भण्डारीलाई बुझाइएको छ। सर्भे रिपोर्ट बुझ्दै नगरप्रमुख भण्डारीले पनौती नगरले शिक्षालाई विशेष प्राथमिकता दिएको र विद्यार्थीहरुलाई सिकाउ, टिकाउ र विकाउको नीति लिएको बताउनुभयो। शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका सबैसंग हातेमालो गर्दै अघि बढ्ने भन्दै उहाँले सामुदायीक विद्यालयहरुको गुणस्तर बढाउन पनि नगरले विशेष ध्यान दिएको बताउनु भएको छ।

इन्द्रेश्वर क्याम्पसका प्रमुख श्रीकुमार सुवालले सर्भेक्षणबाट प्राप्त नतिजा सहितको प्रतिवेदन नगर प्रमुख भण्डारीलाई बुझाउनुभएको थियो।

सर्भेक्षणमा शैक्षिक योग्यता, विद्यार्थीको योजना, क्याम्पस छनौटको आधार, गुणस्तरीय शिक्षाको लागि सुझाव, स्थानीय सरकारले गर्नुपर्ने भुमिका, रोजगारीको स्थिति, आम्दानी आधार मानिएको थियो। सर्भेक्षणमा कक्षा १२ मा अध्ययनरत १ सय ६२ जना विद्यार्थी सहभागि थिए। सर्भेक्षणबाट पनौतीको शिक्षण संस्थामा पढ्न पढाउन, सिक्न सिकाउन, टिक्न टिकाउन, बिक्न बिकाउन प्रोत्साहन गर्ने सन्देश प्राप्त भएको संयोजक कर्माचार्य बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस