नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

नौलो समाचार संवाददाता
२०७९ अषाढ २१, मंगलबार मा प्रकाशित ४२५ पटक पढिएको
नमोबुद्धका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

असार २१, काभ्रे। नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण सम्पन्न भएको छ।

प्रशिक्षण आइतबारदेखि सुरु भई आज (मंगलबार) भएको हो। प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गर्नुभएको थियो। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि देशभरका ७५३ स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकाले पहिलोपटक महिला जनप्रतिनिधिका लागि यस्तो किसिमको प्रशिक्षण आयोजना गरेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो।

यो प्रशिक्षण स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र नमोबुद्ध नगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन्। सहभागीहरुलाई सकारात्मक सोच तथा जीवन शैली र व्यक्तित्व निर्माण, नेतृत्व सीप, महिला, विकास र सूचनाको हक, सञ्चार तथा प्रविधिको प्रयोग, वडाको काम, कर्तव्य र अधिकार, बैठक सञ्चालन निर्णय प्रक्रिया तथा माईन्यूट लेखन, स्थानीय आर्थिक विकास र उद्यमशिलता विकास, योजना तर्जुमा प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कुमार दाहाल, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त यशोदा तिम्सिना, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस