खाद्य तथा गुण नियन्त्रण कार्यालय धुलिखेलद्वारा नगरकोटका होटलहरुलाई स्तरीकरणसहित लोगो वितरण

नौलो समाचार संवाददाता
२०७९ श्रावण २, सोमबार मा प्रकाशित ६६४ पटक पढिएको

खाद्य तथा गुण नियन्त्रण कार्यालय धुलिखेलद्वारा नगरकोटका होटलहरुलाई स्तरीकरणसहित लोगो वितरण

साउन २, काभ्रे। पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलहरुको स्तरीकरण तथा लोगो वितरण कार्य सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल काभ्रेले नगरकोटमा रहेका ‘होटलहरुको स्तरिकरण तथा लोगो वितरण कार्यक्रम’ बिहिबार सम्पन्न गरेको हो।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम अनुसार खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ अनुसुचि १ बमोजिम प्राप्त निवेदनका आधारमा स्थलगत अनुगमन निरिक्षण गरि ३० वटा होटलमा अनुगमन गर्दा २ वटा होटलले हरियो स्टिकर (अति उत्तम क) प्राप्त गरे भने १ वटा होटल (उत्तम ख) मा परेका छन्।

यस्तै ४ वटाले हरियो स्टिकर (मध्यम ग) पाए भने २३ वटाले पहेलो स्टिकर (सन्तोषजनक घ) प्राप्त गरेका छन्। ‘होटल कन्ट्री भिल्ला’ र ‘होटल मिस्टिक माउण्टेनले तीन तारा सहितको हरियो स्टिकर (अति उत्तम क ) प्राप्त गरे भने ‘होटल नगरकोट इन’ले दुई ताराको हरियो स्टिकर (उत्तम ख ) प्राप्त गरेका छन्।

यस्तै अवतार होटल एण्ड स्पा, होटल हिमालयन भिल्ला, होटल ग्रीन भ्याली, माउण्ट एभरेष्ट होटल एण्ड रिसोर्टले एक ताराको हरियो स्टिकर (मध्यम ग) प्राप्त गरेका छन्।

यसैगरी, होटल न्यू ड्रागन, होटल साकुरा दरवार, नगरकोट फुड होम, होटल हिमालयन ग्लेसियर, रेडियन्ट होटल, माउण्टेन्ट रिसोर्ट, पिसफुल कटेज, शेर्पा अल्पाइन कटेज, द फोर्ट रिसोर्ट, न्यू होटल इको होम, होटल भ्यू प्वाइन्ट, हिमालयन गेष्ट हाउस एण्ड रेस्टुरेन्ट, होटल ग्रीन ल्याण्ड, होटल हिमालयन हर्ट, होटल सनराइज मुन वीभ, होटल चौतारी, होटल नगरकोट होलिडे इन, होटल ग्यालेक्सी भ्यू टावर, होटल एभरेस्ट विन्डो इन, होटल नगरकोट पिक एण्ड रेस्टुरेन्ट, होटल सिरस, होटल युनाइटेड भिजन र होटल सनसाइनले पहेलो स्टिकर (सन्तोषजनक घ) लोगो प्राप्त गरेका छन्।

सरसफाई, सेवा प्रदान लगायत ५० वटा सूचकका आधारमा अनुगमन गरिएको कार्यालयका खाद्य निरिक्षक अतिस घिमिरेले जानकारी दिनुभयो। स्तरीकरण गरिएका होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी प्रतिवद्धता गराई सार्वजनिक रुपमा फ्लेक्स बनाएर टाँस्न अनुरोध गर्दै प्रमाणपत्र समेत वितरण गरिएको र आगामी आर्थिक वर्ष भित्रमा रितपूर्वक निवेदन दिई नवीकरण गराईसक्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल काभ्रेका प्रमुख नारायणप्रसाद भट्टराईले बताउनुभयो।

अनुगमन टोलीमा मण्डनदेउपुर नगरपालिका २ का वडाध्यक्ष राजकुमार मल्ल, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ, सचिव प्रदिप अधिकारी, पूर्व अध्यक्ष बद्रिप्रसाद माका, किराना व्यवसायीका प्रतिनिधि विक्रम तामाङ, चन्द्र सूर्य टोल सुधार समितिका अध्यक्ष मिनु तामाङ, पत्रकार एवं प्रहरीको सहभागिता रहेको थियो।

होटल स्तरीकरण ५० वटा सुचकलाई आधार मानेर मुल्यांकन गर्दा ९० अंक भन्दा माथि आएमा (अति उत्तम क), ८०–८९ अंक आएमा (उत्तम ख), ६५–७९ सम्म (मध्यम ग), ५०–६४ सम्म (सन्तोषजनक घ) मापन गरी लोगो प्रदान गरिने गुण नियन्त्रण कार्यालयका अधिकारीहरुले बताएका छन्।

स्तरीकरण गरिएका होटलहरुलाई ६ महिना भित्रमा पुनः निरिक्षण गर्दा सुधार नभएको पाईएमा स्तरीकरण लोगोमा एक तह घटाईने कार्यालयले चेतावनी पनि दिएको छ।

 


प्रतिक्रिया दिनुहोस