काभ्रेका ३ पालिकामा देखियो डेंगु रोगको संक्रमण

नौलो समाचार संवाददाता
२०७९ श्रावण २, सोमबार मा प्रकाशित २००१ पटक पढिएको

काभ्रेका ३ पालिकामा देखियो डेंगु रोगको संक्रमण

साउन २, काभ्रे। काभ्रेमा पनि डेंगु रोगको सङ्क्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।

काभ्रेमा तीन वर्षपछि ३ स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको सङ्क्रमण देखिएको हो। दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।

पनौती नगरपालिका-५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन्। पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ। उहाँले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आईतबार पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरेको बताउनुभयो।

यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले धुलिखेललगायतको स्थानका डेङ्गु रोगको सङ्क्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्ने  बताउनुभयो। उहाँका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन्।ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो।

पाँचखालमा भेटिएका सङ्क्रमितको काठमाडौमा उपचार भइरहेको छ।

लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताउनुभयो। उहाँका अनुसार डेङ्गु रोगको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्‍यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ।

उहाँका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको कीट सहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ।

डेङ्गु रोगका लक्षण 

लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ।

हाल जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमित व्यक्ति भेटिएपछि कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई अपिल गरेको छ। रासस






प्रतिक्रिया दिनुहोस


↑