५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिईदै

नौलो समाचार संवाददाता
२०७९ श्रावण २, सोमबार मा प्रकाशित ५७६ पटक पढिएको
५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिईदै

साउन २, काभ्रे। ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज (सोमबार) लगाउन सुरु गरिएको छ।

देशका २७ जिल्लाका बालबालिकाकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म फाईजरको पहिलो मात्रा खोप लगाईएको थियो। ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा तथा स्वास्थ्य चौकीमा खोप केन्द्र स्थापना गरिएको छ। उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो।

दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ।

देशभरका २१ लाख बालबालिकालाई पहिलो मात्राको खोप लगाइएको थियो।

यता काभ्रेमा ३८ हजार २२७ बालबालिकालाई पहिलो मात्राको खोप लगाइएको थियो।

स्वास्थ्य कार्यालय काभ्रेमा प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले ५ देखि १२ वर्षमुनिका ४४ हजार ६५६ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ३८ हजार २२७ बालबालिकालाई खोप लगाइएको बताउनुभयो।

स्वास्थ्य कार्यालय काभ्रेमा प्रमुख सेढाईले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गर्नुभएको छ।

पहिलो चरणको २७ जिल्लामा प्रदेश १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर छन्।

यस्तै, गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन्।

यस्तै, दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ। सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ।

प्रतिक्रिया दिनुहोस