पनौतीमा खानिजन्य बस्तुबाट दैनिक ५ लाख राजस्व संकलन

पनौती नगर भित्र दैनिक सरदर ८ सय टिपर गुड्ने
नौलो समाचार संवाददाता
२०७९ श्रावण ५, बिहिबार मा प्रकाशित १५८७ पटक पढिएको

पनौतीमा खानिजन्य बस्तुबाट दैनिक ५ लाख राजस्व संकलन

साउन ५, काभ्रे। पनौती नगरपालिकाको खानिजन्य बस्तुवाट दैनिक सरदर ५ लाख रुपैया कर उठ्न थालेको छ। राजस्व संकलनको लागि श्रावण र भदौ दुई महिना अफ सिजन मानिन्छ। ठेक्का नपरेपछि कर्मचारी मार्फत कर उठाइरहेको नगरपालिकाले श्रावण १ गते देखि ४ गते सम्म चार दिनमा २० लाख रुपैया कर संकलन भएको जनाएको छ।

पनौती नगरपालिकाको आन्तरीक आम्दानीको मुख्य स्रोत रहेकोढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का नपरेपछि कर्मचारी मार्फत अमानतमा कर संकलन भैरहेको हो। पनौती नगरको आन्तरीक राजस्व शाखाका कर्मचारी लक्ष्मण मतंछेले जानकारी दिए अनुसार आज (विहिवार) विहान १० वजे सम्म कुल ७ सय १९ वटा रसिद काटिएको छ।

नगरका कर्मचारी मतंछेका अनुसार श्रावण ४ गते सम्म १९ लाख १८ हजार १ सय ९० रुपैया संकलन भएको छ। जस अनुसार १ गते ४८ वटा रहिद बाट १ लाख १७ हजार ५ सय संकलन भएको थियो भने २ गते १ सय ७३ वटा रसिद बाट ४ लाख ९० हजार ९ सय ६० संकलन भएको थियो। श्रावण ३ गते २ सय ३७ वटा रसिदबाट ६ लाख ७१ हजार ८ सय ९० संकलन भएको छ भने ४ गते २ सय ६१ वटा रसिदबाट ७ लाख १७ हजार ८ सय ४० संकलन भएको छ।

आज ५ गते विहान १० वजे सम्म १ लाख ६५ हजार ८ सय १० संकलन भएको छ। यसरी कुल आज विहान सम्म २१ लाख ६४ हजार राजस्व संकलन भएको नगरले जनाएको छ। कर्मचारी मार्फत राजस्व संकलन गर्दा व्यापक अनियमितता हुने जनगुनासो संगै अनियमितता हुन नदिन नगरले सम्पुर्ण संयन्त्र परिचालन गरिरहेको बताएको छ।

विगत चार दिनमा खानिजन्य बस्तुमा डस (माटो) ५७ टिप, वेस १ सय ३० टिप, चिप्स सय टिप, ग्राभेल ८१ टिप, गिट्टी ९५ टिप र ढुंगा २ सय ५६ टिप गएको राजस्व संकलनमा खटिएका पनौती नगरका कर्मचारीले जानकारी दिएका छन्। आन्तरीक राजस्व शाखाका लक्ष्मण मतंछेका अनुसार वार्षिक ३२ करोड ७६ लाख रुपैयाको ठेक्का आव्हान गरेपनि अहिलेसम्म ठेक्का परेको छैन। अहिलेको भन्दा झण्डै २ करोड कम रुपैयामा ठेक्का हालेका गत वर्षका व्यवसायीहरुले विभिन्न कारणले घाटामा गरेको भन्दै झण्डै १० करोड रुपैया छुटको मागका साथ उच्च अदालत पाटनमा मुद्धा दायर गरेका छन्।

अघिल्लो वर्ष ठेक्का हाल्ने व्यवसायीहरुले बाह्रवर्षे मकर मेलामा टिपर बन्द भएको ३६ दिन, रोशी सडक ढलान गर्दा बन्द भएको ३२ दिन, सडक दुर्घटनामा मृत्यु भएपछि उब्जिएका मल्पी घटनामा सडक बन्द भएको १७ दिन, उद्योगको मुल्य वृद्धि, बाढी पहिरोको कारण बन्द भएको १६ दिन, स्थानीय प्रशासनको सुचनाको आधारमा बन्द भएको ८ दिन र स्थानीय आन्दोलनका कारण बन्द भएको ९ दिन गरि कुल १ सय १८ दिन मध्य १ सय १६ दिनको कर छुटको माग दावी गर्दै उच्च अदालतमा मुद्धा परेको छ।

११ वटा खानि दर्तामा रहेको पनौती नगर भित्र दैनिक सरदर ८ सय टिपर गुड्ने अनुमान छ।


प्रतिक्रिया दिनुहोस