पनौतीका साहित्यकार सूर्य लाकोजूका दुई सिर्जना लोकार्पित

नौलो समाचार संवाददाता
२०७९ श्रावण ५, बिहिबार मा प्रकाशित ६०९ पटक पढिएको
पनौतीका साहित्यकार सूर्य लाकोजूका दुई सिर्जना लोकार्पित

साउन ५, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको अक्षरका स्वरुप मुक्तक संग्रह र स्मृतिको आँखीझ्याल बाट संस्करणात्मक  निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ। आफ्नो जन्मदिनको अवसर पारेर उहाँले ती दुई कृतिको बिमोचन बिद्यार्थीहरूको हातबाट एक कार्यक्रमबीच गराउनु भएको हो।

लोकार्पण गरिएका दुई कृतिमध्ये अक्षरका स्वरुपभित्र विविध भाव झल्कने सयओटा मुक्तक हरू सङ्ग्रहित छन्। चोटिला मुक्तक लेख्न सीपालु लाकोजूका यस अघि भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन गरी चारोटा मुक्तकका पुस्तक प्रकाशित छन्।

पुस्तकमा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष, प्रेमप्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता बिषय मुक्तककारले उठाएका छन। लाकोजूको अर्को बिमोचित पुस्तक स्मृतिको आँखीझ्यालबाट लेखकको बाल्यावस्थाको संस्मरण हो। निजी अनुभूतिमा साहित्यको लेप लगाएर सामान्य पाठकले पनि बुझ्ने गरी तयार पारिएका निबन्ध हरूको सङ्गालो स्मृतिको आँखिझ्यालबाट निबन्ध संग्रह स्कुले छात्रछात्रादेखि कलेज तहका विद्यार्थीहरु, सामान्यदेखि विशिष्ट खालका पाठकहरु लगायत अनुसन्धाताका लागि समेत खुराक पस्कन सक्ने खालको छ।

करिब तीन दर्जन कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद कथा जस्ता विधामा कलम चलाउँदै आएका छन्। लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत कृयाशिल रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस