पनौतीको कुशादेवी क्षेत्रमा ‘प्याराग्लाइडिङ’ सञ्चालनको अनुमति

नौलो समाचार संवाददाता
२०७९ श्रावण ८, आईतबार मा प्रकाशित ९३० पटक पढिएको
पनौतीको कुशादेवी क्षेत्रमा ‘प्याराग्लाइडिङ’ सञ्चालनको अनुमति

साउन ८, काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ। स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो। उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ।

प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाइँले बताउनुभयो। मन्त्रालयबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाईसकेको अब प्राधिकरणले प्राविधिक प्रक्रियाको काम सकेर सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा डान सञ्चालन गर्ने उहाँले बताउनुभयो।

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो। कुशादेवी क्षेत्र ३ वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दूम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो। त्यसबेला १५ प्याराग्लाइडिङद्वारा ३ दिन परीक्षण उडान गरिएको थियो। अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो।

उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ। प्याराग्लाइडिङ सञ्चालनका सबै प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले सम्भवतः आउँदो असोजदेखि व्यावसायिक उडान भर्ने योजना बनाइएको हुमागाइँले बताउनुभयो। उहाँका अनुसार दैनिक १० प्याराग्लाइडिङले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको हो। तोकिएको समयमा ६ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ।

प्याराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवाले अध्ययन गरिरहेको हुमागाइँले बताउनुभयो। प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पनि प्रचारको काम हुने पनौती नगरपालिका-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनुभयो  उहाँका अनुसार कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्याराग्लाइडिङ गुर्दूम डाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ। गुर्दूम डाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो। प्याराग्लाइडिङको दूरी करिब १ हजार ५० मिटर छ। उडान भर्ने स्थान समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार १ हजार ३०० मिटरमा छ।

पनौती नगरले पनि आर्थिक वर्ष २०७९/८० मा साहसिक खेल-पर्यटनलाई प्राथमिकतामा राखेको छ। नगरले यस वर्ष हाईकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाईडिङ, रक क्लाईम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गरिने योजनामा राखिएको हो। रासस

प्रतिक्रिया दिनुहोस