पनौती-४ डिहीगाउँमा भोकेसनल एकेडेमीको शिलान्यास

नौलो समाचार संवाददाता
२०७९ श्रावण १२, बिहिबार मा प्रकाशित ७०८ पटक पढिएको
पनौती-४ डिहीगाउँमा भोकेसनल एकेडेमीको शिलान्यास

साउन १२, काभ्रे। पनौती नगरपालिका-४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले शिलान्यास गर्नुभएको छ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म देश समृद्ध नबन्ने बताउनुभएको छ। पनौती-४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उहाँले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भइ कसरी देश निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताउनुभएको हो।

‘जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ’, यादवले भन्नुभयो । उहाँले शिक्षाले देश निर्माणको भावना जागृत गराउनुपर्ने दोहोर्‍याउनुभयो ।

सेन्टरको पहिलो बहुआयामिक भवन (अत्याधुनिक भवन) निर्माणका लागि जर्मन नागरिक हान्स ज्वाकिम स्नाइडरले ७ करोड रुपैयाँ सहयोग गरेका छन्।

कार्यक्रममा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको अवस्थामा ऐतिहासिक कलाकृति निर्माणका लागि तालिम दिने संस्था पनौतीमा स्थापना हुनु आवश्यक रहेको बताउनुभयो।

प्राविधिक तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध नेपाल भोकेसनल एकेडेमी एक सेवामूलक संस्था भएको ऐकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले बताउनुभयो। आफुहरुको मुख्य उद्देश्य भन्नु नै अहिलेका युवा जमातलाई तालिम दिई रोजगारी प्रदान गर्नु रहेको बताउदै उहाँले वर्तमान परिवेशलाई मध्यनजर राख्दै आफुले विशेषतः परम्परागत घर निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिएको उल्लेख गर्नुभयो।


प्रतिक्रिया दिनुहोस