३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना

नौलो समाचार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार मा प्रकाशित ६८१ पटक पढिएको
३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना

साउन १३, काभ्रे। विगत ३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना गरिएको छ। २०६५ साउन ११ गते स्थापना गरिएको यो सुचना केन्द्र पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन।

पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने मात्र हैन पर्यटकहरुलाई उपलब्ध हुने सेवा सुविधा र घुम्ने ठाउहरुको जानकारी दिने यो सुचना केन्द्रबाट पर्यटकलाई केहि समस्या परे समाधानको लागि पहल समेत हुने गर्दछ।

सुचना केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैजूले पनौतीमा पर्यटक सुचना केन्द्र अत्यावश्यक रहेको बताउनुभयो। ऐतिहासिक नगर पनौतीमा आउने पर्यटकहरुका लागि स्मारिका, मायाको चिनो, पर्यटकलाई आवश्यक जानकारी मुलक वस्तु उपलक्ध हुने पसरको पनि आवश्यक रहेको औल्याउदै संस्थापक अध्यक्ष सैजूले पर्यटकहरुका लागि हाते पुस्तकपनि प्रकाशित गर्नुपर्ने बताउनु भएको छ। साथै पर्यटनमैत्री बसपार्क, शौचालय, रकम सटहीको पनि व्यवस्था हुनुपर्ने भन्दै उहाले नगरले पर्यटक प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने औल्याउनु भएको थियो।

पर्यटक तथा पर्यटन क्षेत्रको विकासको लागि नगरपालिका संगै सबै संघसंस्था हातेमालो गर्दै अघि बढ्नुपर्ने औल्याउदै नगरप्रमुख रामशरण भण्डारीले पुर्नस्थापित पनौती पर्यटक सुचना केन्द्रको उद्घाटन गर्नुभएको थियो। पर्यटक सुचना केन्द्रले पर्यटकहरुको गुनासो समेत सुन्नुपर्ने भन्दै उहाले पर्यटकलाई आवश्यक भएको विषयलाई योजना बनाएर कार्यान्वयनको लागि सम्बन्धित निकायमा दिन पनि आग्रह गर्नु भएको थियो।

पनौतीमा सरसफाईमा समुदायहरुले विशेष ध्यान दिनुपर्ने नगरप्रमुख भण्डारीको भनाई थियो।

यस अघि पर्यटक सुचना केन्द्रले स्थापना पछि लगातार ८ वटा वार्षिक स्मारिका समेत प्रकाशित गरेको थियो। हाते पुस्तिका र वार्षिक रुपमा कुन देश वाट कति पर्यटक पनौती आउछन भन्ने रेकर्ड पनि पर्यटक सुचना केन्द्रले राख्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस